नेभिगेशन

चितवनमा जापानिज इन्सेफ्लाइटिसबाट पाँच महिनामा ६ जनाको मृत्यु

नेपाल हेल्थ न्युज, चितवन । चितवन जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका जापानिज इन्सेफ्लाइटिस सङ्क्रमितमध्ये छ जनाको ज्यान गएको छ। पछिल्लो साउन महिनायता उपचारका लागि आएका १७ जना सङ्क्रमितमध्ये ६ जनाको मृत्यु भएको जनाइएको छ।

जनस्वास्थ्य कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिकाका दुई जना, खैरहनी नगरपालिकाका एक जना, राप्ती नगरपालिकाका दुई जना र कालिका नगरपालिकाका एक जना रहेका छन्। मृत्यु भएका व्यक्तिहरूको उमेर उनीहरुमध्ये एक जना ८९, एक जना ८१, दुई जना ७०, एक जना ४२, एक जना ३९ वर्षका रहेका छन् ।

सङ्क्रमितमध्ये १० जना महिला हुन भने सात जना पुरुष रहेका छन् । उनीहरुमध्ये तीन जना १५ वर्षमुनिका, पाँच जना १५ देखि ६० वर्षभित्रका र नौ जना ६० वर्षमाथिका रहेका छन् ।

अधिकांश सङ्क्रमितले जापानिज इन्सेफ्लाइटिसविरुद्धको खोप नलगाएको पाइएको छ भने दुई जनाको खोपसम्बन्धी विवरण स्पष्ट नभएको जनस्वास्थ्य कार्यालयले जनाएको छ।

स्थानगत रूपमा हेर्दा भरतपुर महानगरपालिकाका सात जना, खैरहनी नगरपालिकाका चार जना, राप्ती नगरपालिकाका दुई जना, कालिका नगरपालिकाका दुई जना तथा माडी र रत्ननगर नगरपालिकाका एक–एक जना सङ्क्रमित रहेका छन्।

जापानिज इन्सेफ्लाइटिस क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे प्रायः घर बाहिर बस्ने, बिहान र साँझ बढी सक्रिय हुने र बाहिर नै टोक्ने गर्दछ। सङ्क्रमित सुँगुर, बङ्गुर, हाँसजस्ता पशुपन्छीलाई टोकेपछि मानिसमा रोग सर्न सक्छ। धानखेती भएका क्षेत्रमा यस प्रजातिको लामखुट्टेले अण्डा पार्ने र लार्भा विकास गर्ने भएकाले जोखिम बढ्ने गर्दछ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट