नेपाल हेल्थ न्युज, काठमाडौं । सोलुखुम्बुको सोताङ गाउँपालिका–२ र ५ मा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा सहभागी बिरामीमध्ये ठूलो संख्यामा उच्च रक्तचाप, दम–खोकी, मधुमेह तथा मुटुसम्बन्धी समस्या देखिएको छ।
नेपाल हार्ट फाउन्डेसनको सहकार्यमा पाटन रोटरी क्लब, मेडिकेयर अस्पताल र चेपेल फाउन्डेसनले आयोजना गरेको दुई दिने शिविरमा करिब पाँच सय जनाको स्वास्थ्य परीक्षण गरिएको थियो।
परीक्षणका क्रममा झन्डै ७० प्रतिशतमा उच्च रक्तचाप, करिब आधामा दम–खोकी, ३० प्रतिशतमा मधुमेह र करिब १५ प्रतिशतमा मुटुरोग भेटिएको वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. प्रकाशराज रेग्मीले जानकारी दिनुभयो।
त्यसैगरी, सहभागीमध्ये ८ प्रतिशतमा जन्मजात मुटुरोग र ५ प्रतिशतमा बाथ मुटुरोगको समस्या रहेको पाइएको छ। शिविरकै क्रममा १५ वटा विद्यालयका करिब २ हजार ५ सय बालबालिकाको स्वास्थ्य जाँच गर्दा २० जनामा मुटुसम्बन्धी समस्या देखिएको र तीमध्ये चार जनालाई तत्काल शल्यक्रिया आवश्यक रहेको चिकित्सकहरूले बताउनुभएको छ।
शिविरमा बिरामीहरूको इको र ईसीजी परीक्षण गरिएको थियो। साथै लोमस फार्माको सहयोगमा करिब पाँच लाख रुपैयाँ बराबरका औषधि निःशुल्क वितरण गरिएको आयोजकले जनाएका छन्। शिविरमा डा. उर्मिला शाक्य, प्रेमराज वैद्य, अजय अधिकारी र एञ्जिला वैद्यले स्वास्थ्य परीक्षण सेवा प्रदान गरेका थिए। रासस
राप्ती र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सहकार्य सम्झौता
आइतबार, भदौ २८, २०८३
आज विश्व सेप्सिस दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै
आइतबार, भदौ २८, २०८३
जलनका बिरामीलाई कीर्तिपुर अस्पतालमा काठमाडौं महानगरको २ लाखसम्मको निःशुल्क उपचार
आइतबार, भदौ २८, २०८३
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
