नेभिगेशन

पुस १० भित्र उपचार खर्च विवरण बुझाउन मन्त्रालयको आग्रह

नेपाल हेल्थ  न्युज, काठमाडौं । जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूको उपचार गरिएका ८० अस्पतालमध्ये हालसम्म २३ वटा अस्पतालले मात्र उपचार खर्चको शोधभर्नाका लागि आवश्यक विवरण स्वास्थ्य मन्त्रालयमा पठाएका छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य आपत्कालीन तथा विपत् व्यवस्थापन एकाइ (एचइओसी) ले सबै अस्पताललाई उपचारसम्बन्धी विवरण उपलब्ध गराउन आग्रह गरे पनि बाँकी अस्पतालबाट अझै विवरण आउन बाँकी रहेको जनाएको छ।

एकाइका प्रमुख डा. प्रकाश बुढाथोकीका अनुसार जेनजी घाइतेको उपचार गरेका अस्पताललाई मङ्सिर महिनासम्मको सम्पूर्ण विवरण पुस १० गतेभित्र मन्त्रालयमा पठाउन निर्देशन दिइएको छ। हालसम्म २३ अस्पतालबाट मात्र विवरण प्राप्त भएकाले बाँकी अस्पताललाई पुनः जानकारी गराइएको उहाँले बताउनुभयो।

घाइते र उनका आफन्तबाट उपचार खर्चसम्बन्धी गुनासो आउन थालेपछि मन्त्रालयले विवरण संकलनलाई तीव्रता दिएको हो। प्राप्त विवरणका आधारमा उपचार खर्चको जाँच तथा मूल्याङ्कन कार्य एचइओसीमार्फत भइरहेको छ। मन्त्रालयले उपचारसँग प्रत्यक्ष सम्बन्धित खर्च मात्र शोधभर्ना गरिने स्पष्ट पारेको छ भने हवाई टिकट, ट्याक्सी, खाना, होटलजस्ता खर्च समावेश भए कटौती गरिने जनाएको छ।

निःशुल्क उपचार गर्ने घोषणा गरेका अस्पतालले पूर्ण रूपमा निःशुल्क उपचार गरेको भए पनि त्यसको विवरण पुस १० गतेभित्र मन्त्रालयमा बुझाउनुपर्ने डा. बुढाथोकीले जानकारी दिनुभयो। यदि कुनै अस्पतालले हालसम्म घाइतेको विवरण नपठाएको, विवरण फरक परेको वा छुटेको भए दर्ता रजिस्टरको आधारमा आधिकारिक पत्रसहित मन्त्रालयको इमेलमार्फत जानकारी पठाउन अनुरोध गरिएको छ।

उपचारका क्रममा औषधि वा व्यक्तिगत खर्च भएका घाइतेको हकमा सम्बन्धित अस्पतालले नै खर्च उपलब्ध गराउनुपर्ने मन्त्रालयको भनाइ छ। साथै जेनजी घाइतेको परिचयपत्र लिएका व्यक्तिलाई मात्र स्वास्थ्य उपचार, राहत तथा वर्गीकरण प्रक्रियामा समावेश गरिने भएकाले सबै घाइतेलाई गृह मन्त्रालय वा जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ।

गृह मन्त्रालयका अनुसार हालसम्म ७०३ जना जेनजी घाइतेले परिचयपत्र लिएका छन्। तीमध्ये ५४६ जनाले राहत पाइसकेका छन् भने २१० जना वर्गीकरण प्रक्रियामा समावेश भएका छन्। समावेशमध्ये १८३ जनाको वर्गीकरण सम्पन्न भइसकेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट