नेपाल हेल्थ न्युज, काठमाडौं । सरकारले पाठेघरको मुखको क्यान्सरबाट बचाउन देशभर नियमित रूपमा ‘ह्युमन प्यापिलोमा भाइरस’ (एचपिभी) खोप सुरु गर्ने भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले माघ महिनाको अन्तिम सातादेखि यो कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको जनाएको छ।
स्वास्थ्य मन्त्रालयअन्तर्गत परिवार कल्याण महाशाखा र युनिसेफ नेपालको प्राविधिक सहयोगमा खोप अभियान अघि बढाइँदै छ। राजधानीमा आयोजित एक छलफल कार्यक्रममा मन्त्रालयले कार्यक्रम कार्यान्वयनका लागि आवश्यक तयारी लगभग पूरा भइसकेको जानकारी दिएको हो।
बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार माघको अन्त्यदेखि फागुनको पहिलो सातासम्म अभियान सम्पन्न गर्ने लक्ष्य लिइएको छ। उहाँले निर्वाचन र चाडपर्वका कारण केही चुनौती आउन सक्ने भए पनि तालिका मिलाएर कार्यक्रम सञ्चालन गरिने बताउनुभयो। खोप लगाउने निश्चित मिति र विस्तृत जानकारी छिट्टै सार्वजनिक गरिने जनाइएको छ।
यस पटक कक्षा ६ मा अध्ययनरत १० वर्ष पूरा गरेका करिब साढे तीन लाख किशोरीलाई लक्षित गरी खोप प्रदान गरिनेछ। अघिल्लो वर्ष कक्षा ६ देखि १० सम्मका झण्डै १७ लाख किशोरीलाई एचपिभी खोप दिइएको थियो। गत वर्ष दुई मात्रा दिइएको भए पनि यस वर्ष भने एक मात्रा मात्रै खोप दिइने निर्णय गरिएको छ।
डा. गौतमका अनुसार अन्तर्राष्ट्रिय वैज्ञानिक अध्ययन र खोप सल्लाहकार निकायको सिफारिसका आधारमा एक मात्राको खोप पनि प्रभावकारी हुने निष्कर्ष निकालिएको हो। उहाँले अफवाह र गलत सूचनामा नपरी लक्षित वर्गलाई निश्चिन्त भएर खोप लगाउन आग्रह गर्नुभयो। खोपमा सहभागिता बढाउन अघिल्ला अनुभवका आधारमा समुदायस्तरमा सचेतनामूलक गतिविधि पनि तीव्र पारिएको छ।
स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार नेपालमा दैनिक औसत चार महिलाको पाठेघरको मुखको क्यान्सरका कारण ज्यान जाने अनुमान गरिएको छ। महिलामा देखिने क्यान्सरमध्ये यो रोग प्रमुख समस्यामध्ये एक मानिन्छ। यस क्यान्सरको मुख्य कारण एचपिभी सङ्क्रमण हो।
हाल नेपाल सरकारले १४ वटा रोगविरुद्ध ११ प्रकारका खोप राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत उपलब्ध गराउँदै आएको छ। खोप पहुँच र कभरेजको हिसाबले नेपालले राम्रो प्रगति गरेको र जनचेतना अझै बढाउन सके उपलब्धि थप मजबुत हुने डा. गौतमको भनाइ छ।
स्वास्थ्यकर्मीमाथि हुने आक्रमण रोक्न सुरक्षा समन्वय समिति फेरि सक्रिय गरिने
मंगलबार, साउन १२, २०८३
बेबी पाउडर जोन्सन एन्ड जोन्सनले ट्याल्क मुद्दा मिलाउन ५.५ अर्ब डलर तिर्ने प्रस्ताव
मंगलबार, साउन १२, २०८३
लुम्बिनी प्रादेशिक अस्पतालमा स्वास्थ्यकर्मी माग, कुन पदमा कति ?
मंगलबार, साउन १२, २०८३
नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द
मंगलबार, साउन १२, २०८३
