नेभिगेशन

नेपाल प्रहरी अस्पतालका प्रहरी वरिष्ठ उपरीक्षक लालबाबु गिरीविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्रको मुद्दा दायर

नेपाल हेल्थ न्युज, काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी नेपाल प्रहरी सेवामा प्रवेश तथा बढुवा लिएको अभियोगमा नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लालबाबु गिरीविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

सुरक्षा निकायका उच्च पदस्थ कर्मचारीहरूले सेवा प्रवेश र बढुवाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको भन्ने उजुरीका आधारमा गरिएको अनुसन्धानका क्रममा एसएसपी गिरीले सन् १९८८ मा भारतको बिहार विद्यालय परीक्षा समिति, पटना ‘बिहार स्कुल एग्जामिनेशन बोर्ड, पटना, इन्डिया’ बाट ‘सेकेन्डरी स्कुल एक्जामिनेसन – एसएलसीउत्तीर्ण गरेको भनी पेश गरेको प्रमाणपत्र नक्कली रहेको पुष्टि भएको हो ।

अनुसन्धानका क्रममा बिहार विद्यालय परीक्षा समितिबाट प्राप्त विवरणअनुसार उक्त वर्षको अभिलेखमा अन्तिम रोल नम्बर ५७६ सम्म मात्र प्रकाशित भएको पाइएको छ, जबकि गिरीले पेश गरेको मार्कसिटमा रोल कोड ५५०१ र रोल नम्बर ७१८ उल्लेख रहेको देखिएको छ । यस आधारमा उनको एसएलसी तहको शैक्षिक प्रमाणपत्र नक्कली भएको निष्कर्ष निकालिएको छ ।

उक्त नक्कली एसएलसी प्रमाणपत्रको प्रयोग गरी उनले वि.सं. २०५० सालमा त्रिभुवन विश्वविद्यालयबाट ‘पीसीएल इन नर्सिङ’ तथा वि.सं. २०६३ सालमा पूर्वाञ्चल विश्वविद्यालयबाट ‘पोस्ट बेसिक ब्याचलर इन नर्सिङ’ को शैक्षिक योग्यता हासिल गरेको, साथै ती प्रमाणपत्रहरू पेश गरी वि.सं. २०५२÷०९÷१६ मा नेपाल प्रहरीको प्रहरी नायब निरीक्षक (प्राविधिक) पदमा नियुक्ति लिएको अनुसन्धानमा खुलेको छ ।

त्यसपछि पनि सोही नक्कली शैक्षिक योग्यताको आधारमा विभिन्न पदोन्नति हुँदै हाल प्रहरी वरिष्ठ उपरीक्षक पदसम्म पुगेको तथा सो अवधिमा विभिन्न तालिम, सुविधा र लाभ लिएको देखिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

आयोगका अनुसार गिरीले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६(१) बमोजिमको कसुर गरेको पुष्टि भएको छ। सोही आधारमा साविक ऐनको दफा १२ र दफा २९(२) तथा प्रचलित ऐनको दफा १६(१) बमोजिम सजायको मागदाबी गर्दै आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले उक्त जानकारी दिएका हुन् ।

nepal-polic-hospital-1766492018.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट