नेपाल हेल्थ न्युज, दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नं ११ का वडाध्यक्ष मान बहादुर रावतले नेपाल चिकित्सक संघका आजीवन सदस्य तथा केन्द्रीय कार्यकारिणी समितिका सदस्य डा. किशोर खत्रीमाथि गालीगलौज, दुर्व्यवहार र ज्यान लिने धम्की दिएको घटनाप्रति नेपाल चिकित्सक संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
नेपाल चिकित्सक संघले जारी गरेको प्रेस विज्ञप्तिमा इमानदार तथा जिम्मेवार चिकित्सकमाथि भएको यस्तो आपराधिक र निन्दनीय कार्यको घोर भर्त्सना गरिएको छ। संघका अनुसार यस्ता अमानवीय घटनाले चिकित्सकहरूको आत्मसम्मानमा आँच पुग्नुका साथै स्वास्थ्य सेवा प्रवाहमा समेत गम्भीर असर पर्ने गर्दछ।
समाचार विज्ञप्तिमा उल्लेख भएअनुसार समग्र चिकित्सक समाजलाई अपमानित गर्ने गरी घटाइएको उक्त घटनामा संलग्न दोषीलाई अविलम्ब कानूनको दायरामा ल्याई कडा कारबाही गर्न संघले माग गरेको छ। साथै चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको सुरक्षा सुनिश्चित गर्न सम्बन्धित निकायसँग जोडदार आग्रह गरिएको छ।
नेपाल चिकित्सक संघका महासचिव डा. सन्जिव तिवारीद्वारा जारी विज्ञप्तिमा चिकित्सकहरू सुरक्षित वातावरणमा सेवा प्रदान गर्न पाउनुपर्नेमा जोड दिँदै यस्ता घटनाको पुनरावृत्ति हुन नदिन राज्य गम्भीर बन्नुपर्ने उल्लेख गरिएको छ।

अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३
नर्भिकले ४२ दशमलब १०५ प्रतिशत लाभांश वितरण गर्ने
आइतबार, भदौ २८, २०८३
बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सक टोली जाँदै
शुक्रबार, भदौ २६, २०८३

