नेपाल हेल्थ न्युज, नेपालगन्ज । नेपालगन्जस्थित भेरी अस्पतालले मेरुदण्डसम्बन्धी उपचारमा नयाँ उपलब्धि हासिल गरेको छ । अस्पतालमा पहिलोपटक अत्याधुनिक दूरविन (युबीई इन्डोस्कोपिक) प्रविधिको प्रयोग गरी मेरुदण्डको नसा च्यापिएको एक बिरामीको सफल शल्यक्रिया गरिएको हो ।
लुम्बिनी प्रदेश सरकारको सहयोगमा आवश्यक उपकरण खरिद भएपछि यो सेवा सुरु गरिएको अस्पतालले जनाएको छ । जाजरकोट निवासी २३ वर्षीय युवकको करिब तीन घण्टा लामो शल्यक्रिया स्पाइन सर्जन डा. प्रकाश थापाको नेतृत्वमा सम्पन्न भएको भेरी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. निराजन सुवेदीले जानकारी दिनुभयो ।
डा. सुवेदीका अनुसार एल–४ र एल–५ डिस्क हर्निएसनको उपचार अत्याधुनिक युबीई प्रविधिबाट गरिएको यो शल्यक्रिया अस्पतालका लागि ऐतिहासिक उपलब्धि हो ।
स्पाइन सर्जन डा. थापाले युबीई इन्डोस्कोपिक स्पाइन सर्जरी न्यून चिरफार प्रविधि भएकाले यसमा रक्तस्राव कम हुने, सङ्क्रमणको जोखिम घट्ने तथा शल्यक्रियापछिको पीडा न्यून रहने बताउनुभयो । उहाँका अनुसार बिरामीहरू यस प्रविधिबाट छिटो सामान्य जीवनमा फर्किन सक्छन् ।
उहाँले मेरुदण्डमा अत्यन्तै सानो चिरा दिएर डिस्कसम्बन्धी समस्या सुरक्षित र प्रभावकारी रूपमा उपचार गर्न सकिने भएकाले यो प्रविधि अझ सुरक्षित भएको स्पष्ट पार्नुभयो । समयमै उपचार नहुँदा मेरुदण्डको नसा च्यापिने समस्या गम्भीर भई पक्षघातसम्मको अवस्था आउन सक्ने पनि उहाँको भनाइ छ ।
यसअघि यस्ता शल्यक्रिया गर्न काठमाडौं वा भारतका महँगा अस्पताल जानुपर्ने बाध्यता रहेको उल्लेख गर्दै डा. थापाले अब भेरी अस्पतालमै नियमित रूपमा यो सेवा उपलब्ध हुने जानकारी दिनुभयो ।
भेरी अस्पतालका अनुसार यो सेवाले बाँके, बर्दिया, दाङ, सुर्खेतलगायत पश्चिम नेपालका हजारौँ बिरामीलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ ।
भेरी अस्पताल विकास समितिका सदस्य डा. डक्टप्रसाद धितालले सीमित स्रोतसाधनका बाबजुद आधुनिक स्पाइन सर्जरी सेवा सुरु हुनुलाई गर्वको विषय बताउनुभयो । उहाँका अनुसार आगामी दिनमा मेरुदण्डसम्बन्धी उपचारलाई अझ सुरक्षित, सुलभ र गुणस्तरीय बनाउँदै पुनःस्थापना सेवासमेत विस्तार गर्ने अस्पतालको योजना छ ।
विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
आइतबार, जेठ ३१, २०८३
चितवनका सरकारी अस्पतालमा बिरामीकाे भार
शुक्रबार, जेठ २९, २०८३
नेपाल आँखा अस्पतालको सेवा आइतबार पनि
शुक्रबार, जेठ २९, २०८३
स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधी सहज उपलब्ध गराउने
शुक्रबार, जेठ २९, २०८३

