नेभिगेशन

भेरी अस्पतालमा पहिलोपटक अत्याधुनिक प्रविधिबाट मेरुदण्ड शल्यक्रिया

नेपाल हेल्थ न्युज, नेपालगन्ज । नेपालगन्जस्थित भेरी अस्पतालले मेरुदण्डसम्बन्धी उपचारमा नयाँ उपलब्धि हासिल गरेको छ । अस्पतालमा पहिलोपटक अत्याधुनिक दूरविन (युबीई इन्डोस्कोपिक) प्रविधिको प्रयोग गरी मेरुदण्डको नसा च्यापिएको एक बिरामीको सफल शल्यक्रिया गरिएको हो ।

लुम्बिनी प्रदेश सरकारको सहयोगमा आवश्यक उपकरण खरिद भएपछि यो सेवा सुरु गरिएको अस्पतालले जनाएको छ । जाजरकोट निवासी २३ वर्षीय युवकको करिब तीन घण्टा लामो शल्यक्रिया स्पाइन सर्जन डा. प्रकाश थापाको नेतृत्वमा सम्पन्न भएको भेरी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. निराजन सुवेदीले जानकारी दिनुभयो ।

डा. सुवेदीका अनुसार एल–४ र एल–५ डिस्क हर्निएसनको उपचार अत्याधुनिक युबीई प्रविधिबाट गरिएको यो शल्यक्रिया अस्पतालका लागि ऐतिहासिक उपलब्धि हो ।

स्पाइन सर्जन डा. थापाले युबीई इन्डोस्कोपिक स्पाइन सर्जरी न्यून चिरफार प्रविधि भएकाले यसमा रक्तस्राव कम हुने, सङ्क्रमणको जोखिम घट्ने तथा शल्यक्रियापछिको पीडा न्यून रहने बताउनुभयो । उहाँका अनुसार बिरामीहरू यस प्रविधिबाट छिटो सामान्य जीवनमा फर्किन सक्छन् ।

उहाँले मेरुदण्डमा अत्यन्तै सानो चिरा दिएर डिस्कसम्बन्धी समस्या सुरक्षित र प्रभावकारी रूपमा उपचार गर्न सकिने भएकाले यो प्रविधि अझ सुरक्षित भएको स्पष्ट पार्नुभयो । समयमै उपचार नहुँदा मेरुदण्डको नसा च्यापिने समस्या गम्भीर भई पक्षघातसम्मको अवस्था आउन सक्ने पनि उहाँको भनाइ छ ।

यसअघि यस्ता शल्यक्रिया गर्न काठमाडौं वा भारतका महँगा अस्पताल जानुपर्ने बाध्यता रहेको उल्लेख गर्दै डा. थापाले अब भेरी अस्पतालमै नियमित रूपमा यो सेवा उपलब्ध हुने जानकारी दिनुभयो ।

भेरी अस्पतालका अनुसार यो सेवाले बाँके, बर्दिया, दाङ, सुर्खेतलगायत पश्चिम नेपालका हजारौँ बिरामीलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ ।

भेरी अस्पताल विकास समितिका सदस्य डा. डक्टप्रसाद धितालले सीमित स्रोतसाधनका बाबजुद आधुनिक स्पाइन सर्जरी सेवा सुरु हुनुलाई गर्वको विषय बताउनुभयो । उहाँका अनुसार आगामी दिनमा मेरुदण्डसम्बन्धी उपचारलाई अझ सुरक्षित, सुलभ र गुणस्तरीय बनाउँदै पुनःस्थापना सेवासमेत विस्तार गर्ने अस्पतालको योजना छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट