नेभिगेशन

नेपाल मेडिकल काउन्सिलको निर्वाचन मतगणना आजदेखि, नतिजा दुई दिनभित्र आउने अनुमान

नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल मेडिकल काउन्सिलको हालै सम्पन्न निर्वाचनको मतगणना आज दिउँसो १२ बजेदेखि सुरु हुने भएको छ। काउन्सिलका अनुसार मतगणना ललितपुरको जावलाखेलस्थित स्थानीय विकास प्रशिक्षण केन्द्रको हलमा हुनेछ।

काउन्सिलका रजिस्ट्रार डा. सतिश देवका अनुसार मतगणनाको सम्पूर्ण तयारी पूरा भइसकेको छ। ‘सुरक्षा व्यवस्था तथा आवश्यक प्राविधिक तयारी सम्पन्न भइसकेको छ। समयमै मतगणना सुरु गरिनेछ,’ उनले जानकारी दिए। मतगणना प्रक्रिया पूरा हुन करिब दुई दिन लाग्ने अनुमान गरिएको छ।

यस निर्वाचनमा काठमाडौं उपत्यका र उपत्यका बाहिर गरी कुल ११ हजार ९ सय २२ मत खसेका छन्। तीमध्ये काठमाडौं उपत्यकामा ५ हजार ७६ मत खसेको छ भने उपत्यका बाहिर ६ हजार ८ सय ४६ मत खसेको रजिस्ट्रार डा. देवले बताए।

एक उपाध्यक्ष र आठ सदस्य पदका लागि भएको निर्वाचन उपत्यका बाहिर पुस ४ र ५ गते तथा काठमाडौं उपत्यकामा पुस ११ र १२ गते सम्पन्न भएको थियो। निर्वाचनका लागि देशभर २१ वटा मतदान केन्द्र तोकिएका थिए।

निर्वाचनमा उपाध्यक्ष पदका लागि तीन जना उम्मेदवार प्रतिस्पर्धामा छन् भने सदस्य पदका लागि ३३ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन्। मतगणना सम्पन्न भएपछि काउन्सिलको नयाँ नेतृत्व चयन हुनेछ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट