नेपाल हेल्थ न्युज, काठमाडौं । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाको नेतृत्वमा स्थापना गरिएको बहुविशिष्टीकृत बाल अस्पताल सञ्चालनमा आएको छ। बालबालिकाको स्वास्थ्य सेवामा गुणात्मक परिवर्तन ल्याउने उद्देश्यसहित खोलिएको काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (कियोच) ले आइतबारदेखि ओपीडी सेवा सुरु गरेको हो।
काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–७ मा अवस्थित यस अस्पतालमा दुई हप्ताभित्र इन्डोर सेवा पनि सञ्चालनमा ल्याइने तयारी गरिएको डा. कोइरालाले जानकारी दिनुभयो। हाल अस्पतालमा ५० भन्दा बढी बेडको व्यवस्था गरिएको छ। आगामी ६ महिनाभित्र अस्पताललाई १०० बेडमा विस्तार गर्ने र एक वर्षभित्र २०० बेड क्षमताको बनाउने लक्ष्य रहेको छ।
अस्पतालमा बालरोग विशेषज्ञबाट परामर्श सेवा, एक्स–रे, ईसीजी, इको, अल्ट्रासाउन्ड तथा प्रयोगशाला परीक्षणसहित सबै आवश्यक डायग्नोस्टिक सुविधा उपलब्ध छन्।
सातै प्रदेशमा स्याटेलाइट सेन्टरको योजना
डा. कोइरालाले काठमाडौंमा केन्द्रीय अस्पतालसहित सातै प्रदेशमा स्याटेलाइट सेन्टर स्थापना गर्ने महत्वाकांक्षी योजना अघि सार्नुभएको छ। यसअन्तर्गत पहिलो स्याटेलाइट सेन्टरका रूपमा कोशी प्रदेशको झापा जिल्लाको दमक नगरपालिकामा नेपाल रेडक्रस सोसाइटीले उपलब्ध गराएको भवनबाट बाल अस्पताल सञ्चालनमा आइसकेको छ।
केन्द्रीयस्तरमा काठमाडौंमा २०० बेडको अस्पताल र अन्य प्रदेशमा आवश्यकताअनुसार ५० देखि १०० बेड क्षमताका अस्पताल निर्माण गर्ने लक्ष्य रहेको छ।
स्याटेलाइट सेन्टरहरूमा पनि आईसीयू, एनआईसीयू, पीआईसीयू, जनरल तथा सर्जिकल केयर सेवा उपलब्ध हुनेछन्। अत्यन्त जटिल तथा मल्टिस्पेसियालिटी उपचार आवश्यक पर्ने बिरामीलाई काठमाडौंको केन्द्रीय अस्पतालमा रेफर गरिने व्यवस्था गरिएको छ।

किन आवश्यक छ बाल अस्पताल ?
नेपालको कुल जनसंख्याको करिब ४० प्रतिशत अर्थात् १ करोड २० लाखभन्दा बढी १८ वर्षमुनिका बालबालिका छन्। तर सरकारी स्तरमा विशिष्टीकृत बाल अस्पतालको रूपमा हाल कान्ति बाल अस्पताल मात्र रहेको छ, जहाँ सबै प्रकारका विशिष्टीकृत सेवा प्रभावकारी रूपमा उपलब्ध छैनन्।
डा. कोइरालाका अनुसार बालबालिकाको उपचार वयस्कको जस्तै तरिकाले गर्न सकिँदैन। ‘बालबालिकाको उपचारका लागि डेडिकेटेड टिम, छुट्टै संरचना र विशेषज्ञता आवश्यक पर्छ,’ उनी भन्नुहुन्छ।
बाल मृत्युदर घटाउने संकल्प
नेपालमा पाँच वर्ष नपुग्दै प्रतिहजार ३० जना शिशुको उपचार अभावका कारण मृत्यु हुने तथ्यांक रहेको छ। डा. कोइरालाको विश्वास छ—समयमै र सही उपचार दिन सके अधिकांश बालबालिकालाई जोगाउन सकिन्छ।
देशभर करिब ६०० बालरोग विशेषज्ञ भए पनि ती अधिकांश शहरी क्षेत्रमा केन्द्रित छन्। दुर्गम क्षेत्रका बालबालिकाले जटिल रोगको उपचार पाउन कठिनाइ भोगिरहेका छन्।
‘कोही पनि बालबालिका उपचार वा पैसाको अभावमा मर्नु नपरोस् भन्ने हाम्रो संकल्प हो,’ डा. कोइराला भन्नुहुन्छ। अस्पतालले गरिबीको रेखामुनि रहेका परिवारका बालबालिकालाई निःशुल्क उपचार उपलब्ध गराउने नीति लिएको छ। शुल्क तिर्न सक्नेबाट मात्र लिइने र त्यो पनि सरकारी अस्पतालभन्दा महँगो नहुने उहाँले स्पष्ट पार्नुभयो।
१० वर्षभित्र सबै प्रदेशमा बाल अस्पताल
झन्डै तीन दशकभन्दा बढी समय मुटु सर्जनको रूपमा काम गरिसक्नुभएका डा. कोइरालाले बाल स्वास्थ्य क्षेत्रमा ठूलो जोखिम र जिम्मेवारी लिएका छन्। उहाँको दृढ संकल्प छ, ‘१ वर्षभित्र नेपालका सबै प्रदेशमा बाल अस्पताल सञ्चालन गर्छु।’
सीटी स्क्यान मेसिन खरिद घोटाला: तत्कालीन उपकुलपतिसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बिहीबार, माघ १५, २०८२
गुल्मीमा ५३ प्रतिशत नागरिक स्वास्थ्य बीमामा आबद्ध
बिहीबार, माघ १५, २०८२
मन्त्री शर्माद्वारा जि.पी. कोइराला राष्ट्रिय स्वासप्रश्वास उपचार केन्द्रको अनुगमन
बिहीबार, माघ १५, २०८२
माधव नेपाल अस्पताल भर्ना
बिहीबार, माघ १५, २०८२
