नेपाल हेल्थ न्युज, बागलुङ । बागलुङस्थित धौलागिरि अस्पतालमा तीन वर्षे नर्सिङ शिक्षा सञ्चालन गर्ने तयारी अघि बढाइएको छ। यसका लागि अस्पताल परिसरमै आवश्यक प्रयोगशाला र कक्षाकोठा निर्माण गरिने भएको छ।
गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा धौलागिरि अस्पतालबाट नर्सिङ पढाइ सुरु गर्ने योजना समेटेको थियो। सोहीअनुसार आवश्यक पूर्वाधार विकासका लागि प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले ७० लाख रुपैयाँ बजेट विनियोजन गरेको जनाएको छ।
चालु वर्षमा नर्सिङतर्फ भर्ना प्रक्रिया सकिइसकेकाले यस वर्ष पूर्वाधार निर्माणमा केन्द्रित भएर आगामी शैक्षिक वर्षदेखि विद्यार्थी भर्ना गर्ने तयारी गरिएको गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले जानकारी दिनुभयो। उहाँका अनुसार कक्षाकोठा, प्रयोगशाला लगायतका संरचना चालु आर्थिक वर्षमै तयार पारिनेछ।
धौलागिरि अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. किरण तिवारीका अनुसार प्रदेश मातहतका अस्पताल र बर्थिङ सेन्टरमा दक्ष मिडवाइफ सेवा सुनिश्चित गर्न प्रवीणता प्रमाणपत्र तहको ‘‘मिडवाइफरी’ शैक्षिक कार्यक्रम पनि आगामी वर्षदेखि यही अस्पतालमा सञ्चालन गरिनेछ।
उहाँले यो एसईईपछि अध्ययन गर्न पाइने तीन वर्षे नर्सिङ कोर्स भएको बताउँदै यसमा गर्भवती, सुत्केरी महिला तथा नवजात शिशुको हेरचाहसम्बन्धी विषयमा केन्द्रित अध्ययन हुने जानकारी दिनुभयो। चालु वर्षमै भर्ना सुरु गर्ने योजना भए पनि विभिन्न कारणले ढिलाइ भएकाले अब यस वर्ष पूर्वाधार तयार गरेर अर्को वर्ष भर्ना खोलिने उहाँले स्पष्ट पार्नुभयो।
नर्सिङ अध्यापनका लागि आवश्यक १०० शैय्याको अस्पताल र वार्षिक कम्तीमा १,२०० सुत्केरी सेवा दिने मापदण्ड पूरा भएकाले पढाइ सञ्चालनको आधार तयार भएको जनाइएको छ। मन्त्री पाठकले बागलुङका तीनवटै अस्पतालको एकैपटक स्तरोन्नति भएपछि नर्सिङ शिक्षा सञ्चालन सहज भएको बताउनुभयो।
उहाँँका अनुसार ५० शैय्याको धौलागिरि प्रादेशिक अस्पताललाई १०० शैय्यामा विस्तार गरिएको छ भने बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० शैय्याको बुर्तिबाङ प्रदेश अस्पताल बनाइएको छ। साथै धौलागिरि आयुर्वेद अस्पताल बागलुङलाई २५ शैय्याको अस्पतालमा स्तरोन्नति गरिएको छ।
सीटी स्क्यान मेसिन खरिद घोटाला: तत्कालीन उपकुलपतिसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बिहीबार, माघ १५, २०८२
गुल्मीमा ५३ प्रतिशत नागरिक स्वास्थ्य बीमामा आबद्ध
बिहीबार, माघ १५, २०८२
मन्त्री शर्माद्वारा जि.पी. कोइराला राष्ट्रिय स्वासप्रश्वास उपचार केन्द्रको अनुगमन
बिहीबार, माघ १५, २०८२
माधव नेपाल अस्पताल भर्ना
बिहीबार, माघ १५, २०८२
