नेभिगेशन

अत्यधिक चिसोमा अनावश्यक बाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको अनुरोध

नेपाल हेल्थ न्युज, काठमाडौं । देशभर चिसो बढ्दै गएकाले स्वास्थ्यमा नकारात्मक असर पर्न सक्ने भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन सर्वसाधारणलाई आग्रह गरेको छ।

मन्त्रालयका अनुसार जाडो बढेसँगै रुघाखोकी, ज्वरो, दमको समस्या, सास फेर्न गाह्रो हुने तथा हाइपोथर्मियाजस्ता स्वास्थ्य समस्या भएका बिरामीको सङ्ख्या बढ्ने गरेको छ। त्यसैले चिसो मौसममा अनावश्यक रूपमा बाहिर ननिस्कन सावधानी अपनाउन मन्त्रालयले अनुरोध गरेको हो।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जाडोयाममा तापक्रम सामान्यभन्दा तल झर्दा शीतलहर, हुस्सु, कुहिरो र हिमपातजस्ता कारणले जनस्वास्थ्यमा प्रतिकूल असर पर्ने बताउनुभयो। यस्तो अवस्थामा विशेष गरी बालबालिका, गर्भवती महिला, ज्येष्ठ नागरिक तथा दीर्घरोगी बढी जोखिममा पर्ने उहाँको भनाइ छ।

उहाँले चिसोका कारण स्वास्थ्य समस्या देखिएमा ढिला नगरी नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न वा ‘हेलो स्वास्थ्य कल सेन्टर १११५ मा फोन गरेर परामर्श लिन आग्रह गर्नुभयो।

यसैबीच, पछिल्ला वर्षहरूमा जाडोयामसँगै बढ्ने वायु प्रदूषणले मुटु, फोक्सो, मस्तिष्कलगायत अङ्गमा गम्भीर असर पार्ने र दम तथा क्यान्सरजस्ता दीर्घरोगको जोखिम बढाउने मन्त्रालयले जनाएको छ।

चिसोबाट बच्न धुवाँधुलोबाट टाढा रहने, न्यानो लुगा लगाउने, पोषणयुक्त सन्तुलित भोजन गर्ने, भिटामिन ‘सी’युक्त फलफूल जस्तै सुन्तला, कागती र अमला खाने, मौसमअनुसारको ताजा फलफूल तथा सागसब्जी सेवन गर्ने, सरसफाइमा ध्यान दिने र प्रशस्त झोल पदार्थ पिउने सुझाव मन्त्रालयले दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट