नेपाल हेल्थ न्युज, काठमाडौं । डडेलधुरा अस्पताल विकास समितिका अध्यक्ष करूणाकर ओझामाथि कार्यकक्षमै भएको दुर्व्यवहारको घटनाप्रति आपत्ति जनाउँदै अस्पतालले बिहीबारदेखि आकस्मिक सेवाबाहेकका सबै स्वास्थ्य सेवा अस्थायी रूपमा बन्द गर्ने निर्णय गरेको छ।
बुधबार केही व्यक्तिहरूले राजनीतिक आवद्धताको नाम लिँदै अध्यक्ष ओझामाथि विभिन्न आरोप लगाई कालोमोसो दल्ने कार्य गरेका थिए। उक्त घटनाले अस्पतालभित्र कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीहरूको मनोबलमा नकारात्मक असर परेको अस्पताल विकास समितिको भनाइ छ।
घटनापछि जारी गरिएको विज्ञप्तिमा दोषीमाथि तत्काल कानुनी प्रक्रिया अघि नबढाइएसम्म र कर्मचारीहरूको सुरक्षाप्रति सुनिश्चितता नहुँदासम्म आकस्मिक बाहेकका सेवा सञ्चालन गर्न कठिन भएको उल्लेख गरिएको छ।
अस्पताल प्रशासनका अनुसार स्वास्थ्य सेवा सुधार र प्रभावकारी सेवा प्रवाहका लागि अग्रपंक्तिमा खटिएका व्यक्तिमाथि अस्पताल परिसरमै गरिएको दुर्व्यवहारले सम्पूर्ण स्वास्थ्य प्रणालीमै गम्भीर असर पार्ने खतरा छ।
अस्पतालले यस्ता गतिविधिले सेवा प्रवाहमा अवरोध बाहेक अन्य कुनै सकारात्मक परिणाम नदिने स्पष्ट गर्दै सबै सरोकारवाला पक्षलाई जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरेको छ। साथै घटनामा संलग्न व्यक्तिहरूमाथि छानबिन गरी कानुनअनुसार कारबाही गर्न सम्बन्धित निकायसँग माग गरिएको छ।
भविष्यमा यस्ता अराजक गतिविधि दोहोरिन नदिन स्थानीय प्रशासन, सुरक्षा निकाय, नागरिक समाज तथा सरोकारवाला सबै पक्षलाई सक्रिय भूमिका निर्वाह गर्न अस्पतालले अपिल गरेको छ।
विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
आइतबार, जेठ ३१, २०८३
चितवनका सरकारी अस्पतालमा बिरामीकाे भार
शुक्रबार, जेठ २९, २०८३
नेपाल आँखा अस्पतालको सेवा आइतबार पनि
शुक्रबार, जेठ २९, २०८३
स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधी सहज उपलब्ध गराउने
शुक्रबार, जेठ २९, २०८३

