नेपाल हेल्थ न्युज, काठमाडौं । त्रिवि शिक्षण अस्पतालले सरकारको स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत उपचार गराएका बिरामीको भुक्तानी समयमै नपाउँदा आर्थिक संकट झेलिरहेको जनाएको छ। अस्पतालले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा समस्या देखिन थालेको विज्ञप्ति मार्फत जानकारी दिएको छ।
अस्पतालका अनुसार २०७७ सालदेखि हालसम्म बीमा दाबीअनुसार पाउनुपर्ने ३८ करोड रुपैयाँभन्दा बढी रकम अझै भुक्तानी हुन बाँकी छ।
रकम समयमै नपाउँदा दैनिक आर्थिक कारोबारमा असर परेको र औषधि खरिद, स्वास्थ्य सामग्री आपूर्ति, कर्मचारी तलब भुक्तानी र अन्य सञ्चालन खर्चमा चुनौती आएको अस्पतालले बताएको छ।
त्रिवि शिक्षण अस्पतालले मासिक १२–१५ करोड रुपैयाँ खर्च गर्नुपर्ने भए पनि बीमा कार्यक्रमबाट प्राप्त रकम नियमित नहुँदा प्रतिमहिना डेढ–दुई करोड रुपैयाँ घाटा व्यहोर्नुपरेको जनाएको छ। अस्पतालले स्वास्थ्य बीमा बोर्ड, स्वास्थ्य मन्त्रालय र अर्थ मन्त्रालयलाई पटक–पटक जानकारी गराए पनि समाधान नआएको उल्लेख गरेको छ।
अस्पतालका अनुसार बीमा कार्यक्रम मार्फत उपचारमा आउने बिरामीहरूको संख्या बढ्दो क्रममा छ र दैनिक २०–२५ लाख रुपैयाँ खर्च हुन थालेको छ। यस्तो अवस्थामा बाँकी रकम भुक्तानी नहुँदा र नयाँ दररेट अनुसार सम्झौता नहुँदा आगामी माघ १ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम स्थगित गर्नुपर्ने स्थिति आएको अस्पतालले जनाएको छ।


सुत्केरीलाई ६ महिना तलबी बिदा दिने प्रस्ताव
बुधबार, साउन १३, २०८३
नेपालमै पहिलो पटक न्यून चिरफार विधिबाट मुटुका तीनवटै भल्भको सफल शल्यक्रिया
बुधबार, साउन १३, २०८३
मेयरका छोरा डा. यादवले एकै पटक गरे साउनभरिको हाजिर
बुधबार, साउन १३, २०८३
स्वास्थ्यकर्मीमाथि हुने आक्रमण रोक्न सुरक्षा समन्वय समिति फेरि सक्रिय गरिने
मंगलबार, साउन १२, २०८३
