नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आपतकालीन उपचार तालिम प्रणालीलाई अझ प्रभावकारी बनाउन नर्वेस्थित लिर्डल ग्लोबल हेल्थले ‘इमरजेन्सी केयर लर्निङ ल्याब’ किट सहयोगस्वरूप उपलब्ध गराएको छ।
उक्त सामग्री मन्त्रालयका प्रवक्ता तथा स्वास्थ्य आपतकालीन सेवा केन्द्र (एचइओसी) का प्रमुख डा. प्रकाश बुढाथोकीलाई लिर्डल ग्लोबल हेल्थकी प्रमुख कार्यकारी अधिकृत क्यारोलिन माइकलबेस्ट लिन्देले औपचारिक रूपमा हस्तान्तरण गर्नुभएको हो।
सहयोगअन्तर्गत नौ सेट ‘इमरजेन्सी केयर लर्निङ ल्याब’ तथा दुई वटा एएलएस बेबी ट्रेनर किट प्रदान गरिएको छ। यी सामग्रीहरू राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र, स्वास्थ्य आपतकालीन सञ्चालन केन्द्र तथा सातै प्रदेशका स्वास्थ्य तालिम केन्द्रहरूमा प्रयोग गरिने जनाइएको छ।
कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमले आपतकालीन स्वास्थ्य सेवाको गुणस्तर सुधारका लागि नर्वे सरकार तथा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले पुर्याउँदै आएको सहयोग प्रशंसनीय रहेको बताउनुभयो।
मन्त्री गौतमले हालै मन्त्रालयमा भएको आगलागीका कारण महत्वपूर्ण उपकरणहरू नष्ट भएको स्मरण गर्दै, प्राप्त सहयोगले ती क्षतिहरू पूर्ति गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले नेपाल भूकम्प, बाढी, आगलागीजस्ता प्राकृतिक विपद्को उच्च जोखिममा रहेको देश भएकाले पूर्वतयारी र तत्काल प्रतिकार्यमा संघ, प्रदेश र स्थानीय तह सबै गम्भीर रहेको स्पष्ट पार्नुभयो।
एचइओसीको नेतृत्वमा विभिन्न सरकारी निकाय र विकास साझेदारसँगको सहकार्यमा विपद् व्यवस्थापनका गतिविधि अघि बढिरहेको उल्लेख गर्दै मन्त्री गौतमले विशेषगरी डब्लुएचओले प्राविधिक सहयोग र आपतकालीन तालिम संरचना विकासमा खेलेको भूमिकाको प्रशंसा गर्नुभयो।

कार्यक्रमका क्रममा प्रस्तुत गरिएको वृत्तचित्रमार्फत एम्बुलेन्स चालकदेखि चिकित्सकसम्मले तालिमको प्रभावकारिताबारे अनुभव व्यक्त गरेका थिए। त्यसपछि मन्त्री गौतमले यस्ता तालिम एकपटक मात्रै नभई निरन्तर अभ्यासमार्फत सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो।
प्राप्त किटहरूको प्रयोगबाट आधारभूत आपतकालीन उपचार तथा अस्पतालपूर्व सेवासम्बन्धी तालिम थप प्रभावकारी हुने, स्वास्थ्यकर्मीको दक्षता बढ्ने र देशभर आपतकालीन उपचार सेवाको पहुँच तथा गुणस्तर सुधार हुने अपेक्षा गरिएको छ।
एकीकृत स्वास्थ्य सूचनामा आम नागरिकको पहुँचमा जोड
बिहीबार, माघ १, २०८२
आज राष्ट्रिय योग दिवस मनाइँदै
बिहीबार, माघ १, २०८२

