नेपाल हेल्थ न्युज, काठमाडौं। नेपाल चिकित्सक संघको लामो समयदेखि अवरुद्ध रहेको निर्वाचन प्रक्रिया पुनः अघि बढ्ने भएको छ। निर्वाचन समितिले तोकिएको समयमा उम्मेदवारी दिन चाहने सबै सदस्यहरूको मनोनयन कायम रहने निर्णय गरेको जनाएको छ।
निर्वाचन समितिद्वारा जारी सूचनामा पाटन उच्च अदालतको आदेशका कारण रोकिएको निर्वाचनलाई छिटो टुंग्याउने उद्देश्यले यस्तो निर्णय लिइएको उल्लेख छ।
समितिले यसअघि पुस २७ गते सरोकारवाला पक्षहरूसँग अलग–अलग छलफल गरेको थियो भने पुस २८ र माघ ३ गते सर्वपक्षीय बैठकसमेत सम्पन्न गरेको थियो।
ती छलफलहरू तथा निर्वाचन प्रक्रिया अघि बढाउन विभिन्न पक्षबाट लिखित रूपमा आएका अनुरोधलाई ध्यानमा राख्दै, अदालतको आदेशको मर्मअनुसार तोकिएको मिति पुस २ मा मनोनयन फारम बुझाएका र शुल्क तिरेका उम्मेदवारहरूको मनोनयन कायम राख्ने निर्णय गरिएको निर्वाचन समितिले जानकारी दिएको छ।
समितिका अनुसार मनोनयन स्वीकृत भएका उम्मेदवारहरूको अन्तिम सूची चाँडै सार्वजनिक गरिनेछ। अनौपचारिक जानकारी अनुसार उपत्यका बाहिर माघ १५ र १६ गते तथा उपत्यका भित्र माघ २९, फागुन १ र २ गते निर्वाचन गर्ने तयारी गरिएको छ। यस निर्णयसँगै नेपाल चिकित्सक संघको लामो समयदेखि रोकिएको निर्वाचन प्रक्रिया अब अगाडि बढ्ने विश्वास गरिएको छ।

अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३
नर्भिकले ४२ दशमलब १०५ प्रतिशत लाभांश वितरण गर्ने
आइतबार, भदौ २८, २०८३
बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सक टोली जाँदै
शुक्रबार, भदौ २६, २०८३

