नेभिगेशन

सरकारद्वारा अस्पताललाई निर्देशन: निपाह भाइरसको लक्षण देखिए तुरुन्त जानकारी दिनुस्

नेपाल हेल्थ न्युज, काठमाडौं । नेपालमा निपाह भाइरस फैलिन सक्ने जोखिमलाई ध्यानमा राख्दै महामारी तथा रोग नियन्त्रण महाशाखाले देशभरका अस्पताललाई सतर्क रहन निर्देशन दिएको छ। निपाह भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएका बिरामी तथा यस्ता लक्षणका कारण मृत्यु भएका घटनाबारे विवरण संकलन गर्न अस्पताललाई आग्रह गरिएको महाशाखाले जनाएको छ।

छिमेकी भारतको पश्चिम बंगालमा हालै निपाह भाइरस संक्रमणका घटना देखिएपछि नेपालमा पनि निगरानी बढाइएको हो। भारतीय सञ्चारमाध्यमका अनुसार त्यहाँ एक साताको अवधिमा कम्तीमा पाँच जनामा संक्रमण पुष्टि भएको छ भने करिब एक सय जनालाई निगरानी तथा क्वारेन्टाइनमा राखिएको छ।

महाशाखाका चिकित्सक डा. अमृत पोखरेलका अनुसार निपाह संक्रमित व्यक्ति सामान्यतया गम्भीर अवस्थामा रहने भएकाले लामो दूरीको यात्रा गरेर नेपाल प्रवेश गर्ने सम्भावना न्यून हुन्छ।

‘संक्रमितहरू प्रायः सीधै अस्पताल पुग्ने अवस्था हुन्छ, त्यसैले अस्पतालहरूलाई विशेष सतर्क रहन भनिएको छ,’ उनले बताए। सीमा नाकामा रहेका स्वास्थ्य डेस्कलाई पनि जोखिमबारे जानकारी गराइसकिएको उनले उल्लेख गरे।

विश्व स्वास्थ्य संगठनका अनुसार निपाह भाइरस संक्रमण भएपछि ३ देखि १४ दिनभित्र लक्षण देखिन सक्छ। संक्रमित व्यक्तिमा ज्वरो, टाउको दुखाइ, खोकी, घाँटी दुख्ने, सास फेर्न गाह्रो हुनेजस्ता समस्या देखिन सक्छन्।

केही अवस्थामा मस्तिष्क सुन्निने, मानसिक अन्योल, अत्यधिक थकान र दौरा पर्ने समस्या पनि देखिन सक्ने चिकित्सकहरू बताउँछन्।

गम्भीर अवस्थामा बिरामी २४ देखि ४८ घण्टामै कोमामा जान सक्ने जोखिम रहन्छ। डब्ल्युएचओका अनुसार यस भाइरसबाट मृत्यु हुने दर ४० देखि ७० प्रतिशतसम्म हुन सक्छ। निपाह भाइरस जुनोटिक प्रकृतिको भएको र जनावरबाट मानिसमा सर्ने चिकित्सकहरूको भनाइ छ।

चमेरो र सुँगुरलाई निपाह भाइरसका मुख्य प्राकृतिक होस्ट मानिन्छ। संक्रमित जनावरसँग प्रत्यक्ष सम्पर्क वा तिनको मासु सेवन गर्दा संक्रमण फैलिन सक्ने जोखिम रहन्छ। चमेरोमार्फत फलफूल वा वातावरणमा भाइरस फैलिन सक्ने सम्भावना पनि रहेको विज्ञहरूले बताएका छन्।

निपाह भाइरस पहिलोपटक सन् १९९९ मा मलेसिया र सिंगापुरमा पहिचान गरिएको थियो। त्यसयता भारतका विभिन्न भागमा समय–समयमा यसको प्रकोप देखिँदै आएको छ। पश्चिम बंगालमा सन् २००१ र २००७ मा तथा केरलामा २०१८ मा फैलिएको संक्रमणबाट दर्जनौँको ज्यान गएको थियो।

शुक्रराज ट्रपिकल तथा संक्रामक रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट प्रमुख डा. शेरबहादुर पुनका अनुसार यो भाइरस अन्य श्वासप्रश्वास सम्बन्धी भाइरसको तुलनामा निकै घातक छ। ‘चमेरो र सुँगुर नेपालमा पनि पाइने भएकाले जोखिमलाई हल्का रुपमा लिन हुँदैन, उनले भने।

खुला सीमा र भौगोलिक समानताका कारण जोखिम कायमै रहेकाले सतर्कता, प्रारम्भिक पहिचान र संक्रमण नियन्त्रणमा जोड दिनुपर्ने विज्ञहरूको सुझाव छ। हालसम्म निपाह भाइरसको निश्चित उपचार वा खोप उपलब्ध नभएकाले लक्षणअनुसार उपचार गरिँदै आएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट