नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाललाई क्षयरोगमुक्त राष्ट्र बनाउने लक्ष्यसहित राष्ट्रिय क्षयरोग कार्यक्रमको वार्षिक समीक्षा गोष्ठी ललितपुरमा सुरु भएको छ। माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतमको प्रमुख आतिथ्यमा सुरु भएको गोष्ठीले क्षयरोग नियन्त्रणका वर्तमान उपलब्धि, चुनौती र भावी रणनीतिमाथि गम्भीर समीक्षा गर्ने अपेक्षा गरिएको छ।
गोष्ठी उद्घाटन गर्दै मन्त्री डा. गौतमले समुदायमा लुकेर रहेका प्रत्येक क्षयरोगीको पहिचान र सफल उपचार नै क्षयरोग अन्त्यको मुख्य आधार भएको उल्लेख गर्नुभयो। ‘कुनै पनि क्षयरोगी उपचारबाट वञ्चित हुनु हुँदैन,’ भन्दै उहाँले सबै तहका स्वास्थ्य संरचनाले परिणाममुखी ढंगले काम गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।
निर्माणको चरणमा रहेको नयाँ राष्ट्रिय क्षयरोग रणनीति (२०२६/२७–२०३०/३१० लाई उल्लेख गर्दै मन्त्री गौतमले रणनीतिलाई कागजमा सीमित नराखी स्पष्ट कार्ययोजना, समयसीमा र जिम्मेवारीसहित प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिनुभयो। साथै, उपलब्ध स्रोतसाधनको उचित र पारदर्शी प्रयोगले मात्रै क्षयरोग नियन्त्रणमा अपेक्षित सफलता हासिल गर्न सकिने उहाँको भनाइ थियो।
कार्यक्रममा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा. भुवन पौडेलले नेपालमा क्षयरोगको वर्तमान अवस्था, उपचारको पहुँच, उपचार सफलताको दर तथा कार्यक्रम कार्यान्वयनमा देखिएका चुनौतीहरूबारे विस्तृत जानकारी गराउनुभयो। उहाँले संघ, प्रदेश र स्थानीय तहबीचको समन्वय मजबुत बनाउन सके क्षयरोग नियन्त्रणमा उल्लेखनीय सुधार आउने विश्वास व्यक्त गर्नुभयो।
दुई दिनसम्म सञ्चालन हुने यस गोष्ठीमा संघीय सरकार, प्रदेश सरकार तथा स्थानीय तहका स्वास्थ्य प्रमुख र प्रतिनिधिहरूको सहभागिता रहेको छ। गोष्ठीले कार्यक्रम कार्यान्वयनका क्रममा देखिएका कमजोरीहरू पहिचान गर्दै आगामी वर्षका लागि ठोस, व्यवहारिक र दीगो समाधानका उपायहरू तय गर्ने लक्ष्य लिएको छ।
स्वास्थ्य क्षेत्रका सरोकारवालाहरूका अनुसार यस प्रकारका समीक्षा गोष्ठीले नीति र व्यवहारबीचको दूरी घटाउँदै क्षयरोग अन्त्यको राष्ट्रिय लक्ष्यतर्फ देशलाई थप नजिक लैजाने अपेक्षा गरिएको छ।

बाँकेमा हात्तीपाइले विरुद्धको १० दिने औषधि सेवन अभियान सुरु
शुक्रबार, माघ ९, २०८२
स्वास्थ्य मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखा प्रमुखमा डा. चुमनलाल
शुक्रबार, माघ ९, २०८२
सानोठिमी बाल सुधार गृहमा झडप, १३ घाइते
शुक्रबार, माघ ९, २०८२

