नेपाल हेल्थ न्युज, पोखरा । नेपाल हृदयरोग निवारण प्रतिष्ठानको ३४औँ केन्द्रीय सभा पोखरामा सफलतापूर्वक सम्पन्न भएको छ। प्रतिष्ठानको पोखरा शाखाको आयोजनामा माघ ९ र १० गते दुई दिनसम्म चलेको सभामा देशका ३५ जिल्लाबाट १६५ जना प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
सभाको पहिलो दिन सम्मान तथा पुरस्कार वितरण कार्यक्रम आयोजना गरिएको थियो। प्रतिष्ठानका केन्द्रीय अध्यक्ष डा. सत्यनारायण सुवालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा. इन्द्रप्रसाद तिवारी प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। उहाँले मुटुरोग निवारण क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका विभिन्न व्यक्तित्वहरूलाई सम्मान तथा पुरस्कार प्रदान गर्नुभयो।
मुटुरोगसम्बन्धी जनचेतना अभिवृद्धि र संस्थागत व्यवस्थापन सुधारमा योगदान पुर्याएको भन्दै डा. प्रचण्ड प्रधानलाई ‘मृगेन्द्र सम्झना चिकित्सा गुठी ओरेसन सम्मान–२०८२’ प्रदान गरिएको थियो। यस्तै, ललितपुर शाखामार्फत लामो समयदेखि मुटुरोगीहरूको सेवामा समर्पित रूपकान्त राजोपाध्यायलाई ‘स्व. दामोदरराज शर्मा मुटुरोगी सेवा पुरस्कार–२०८२’ प्रदान गरिएको छ।
दीर्घकालीन रूपमा मुटुरोगी सेवामा योगदान पुर्याएको कदरस्वरूप डा. सुमन्त बन्जाडेलाई ‘मृगेन्द्र सम्झना चिकित्सा गुठी सेवा पुरस्कार–२०८२’ तथा बाथ मुटुरोग निवारणमा जनचेतना, उपचार र रोकथामका क्षेत्रमा योगदान पुर्याएको भन्दै डा. प्रेमराज बैद्यलाई ‘बाथ मुटुरोग निवारण पुरस्कार–२०८२’ प्रदान गरिएको आयोजकले जनाएको छ। यी पुरस्कारहरू २५ हजार रुपैयाँ नगद तथा सम्मान पत्रसहित प्रदान गरिएको हो।
त्यसै अवसरमा संस्थागत कार्यसम्पादनका आधारमा सर्लाही शाखालाई ५० हजार रुपैयाँ राशीको प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो भने मकवानपुर शाखाले सर्वोत्कृष्ट शाखा पुरस्कार प्राप्त गरेको छ। सम्मानित व्यक्तित्वहरूको परिचय केन्द्रीय सह–कोषाध्यक्ष राजुराम मुनंकर्मीले प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रा.डा. तिवारीले नयाँ पुस्तामा बढ्दो जङ्क फुड सेवन र त्यसले मुटुरोगको जोखिम बढाएको उल्लेख गर्दै जनचेतनामूलक कार्यक्रम विस्तार गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले मुटुरोग नियन्त्रणका लागि सरकारी तथा गैरसरकारी निकायबीच सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो।
सभामा गण्डकी प्रदेशका निमित्त स्वास्थ्य सचिव डा. रमेश केसी, उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी, सम्मानित व्यक्तित्वहरू तथा शाखा प्रतिनिधिहरूले आ–आफ्ना विचार राखेका थिए। वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. प्रकाशराज रेग्मीले नेपालमा मुटुरोग रोकथाममा प्रतिष्ठानको भूमिकाबारे विशेष प्रवचन दिनुभएको थियो।
सभाको दोस्रो दिन सहभागीहरूले पोखराको न्युरोड–महेन्द्रपुल–नयाँबजार हुँदै प्रभातफेरि आयोजना गरी मुटुरोग निवारणसम्बन्धी सन्देश प्रवाह गरेका थिए। साथै केन्द्रीय महासचिव कोमलप्रकाश घिमिरेले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन र कोषाध्यक्ष उत्तमलाल श्रेष्ठद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन छलफलपछि सर्वसम्मत रूपमा पारित गरिएको थियो।
कार्यक्रममा केन्द्रीय महासचिव घिमिरेले स्वागत मन्तव्य राख्नुभएको थियो भने कास्की शाखाका सभापति केदार ढकालले धन्यवाद ज्ञापन गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन कास्की शाखाका सचिव नवीनराज बरालले गर्नुभएको थियो।
चिकित्सक अचेत अवस्थामा फेला
आइतबार, चैत १, २०८२
काठमाडौं मेडिकल कलेजमा दुर्लभ मस्तिष्क रोगको सफल उपचार
आइतबार, चैत १, २०८२
अल्झिएको चिकित्सक संघको चुनावः समाधान खोज्दै निर्वाचन समिति
आइतबार, चैत १, २०८२
जुम्लाबाट हेलिकप्टरमा उद्दार गरिएकी सुत्केरीको मृत्यु
शुक्रबार, फागुन २९, २०८२
