नेभिगेशन

सीटी स्क्यान मेसिन खरिद घोटाला: तत्कालीन उपकुलपतिसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

नेपाल हेल्थ न्युज, काठमाडौं । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सीटी स्क्यान मेसिन खरिदसँग सम्बन्धित अनियमिततामा तत्कालीन उपकुलपति प्रा. डा. संगीतासिंह भण्डारीसहित १९ व्यक्ति र एक निजी कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको अभियोगमा प्रतिष्ठानका पदाधिकारी, कर्मचारी तथा खरिद प्रक्रियामा संलग्न कम्पनीका प्रतिनिधिहरू समेटिएका छन्।

आयोगले उनीहरूबाट करिब ७ करोड ३१ लाख ८२ हजार ९ सय ८५ रूपैयाँ बिगो मागदाबी गरेको जनाएको छ।

प्रतिवादी बनाइएकाहरूमा तत्कालीन उपकुलपति भण्डारी, रजिष्ट्रार कैलाशप्रसाद देव, तत्कालीन निर्देशक डा. सागर पन्थी, रेडियोलोजी विभाग प्रमुख डा. बोम बीसी, बायोमेडिकल इन्जिनियरहरू शरद भण्डारी र आशुतोष भण्डारी, कन्सल्टेन्ट बायोमेडिकल इन्जिनियर अमितकुमार चौधरी, हिमालयन मेडिटेक प्रालि कम्पनी र यसका प्रतिनिधि अमर श्रेष्ठ र सन्जु राजकर्णिकारलगायत रहेको अख्तियारले जनाएको छ ।

आयोगका अनुसार प्रतिष्ठानका लागि १२८ स्लाइसको सीटी स्क्यान मेसिन खरिद गर्दा आवश्यकताको स्पष्ट मूल्यांकन र गुरुयोजना तयार नगरी प्रक्रिया अघि बढाइएको थियो। साथै, बोलपत्र खोल्नुअघि नै प्राविधिक मापदण्डमा अस्वाभाविक परिवर्तन गरी निश्चित कम्पनीलाई लाभ पुग्ने वातावरण सिर्जना गरिएको र मेसिनको गुणस्तरबारे भ्रामक प्रतिवेदन तयार पारिएको आरोप लगाइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट