नेपाल हेल्थ न्युज, नेपालगन्ज । पश्चिम नेपालका आर्थिक रूपमा कमजोर तथा विपन्न बिरामीहरूका लागि भरोसाको केन्द्र मानिने नेपालगन्जस्थित भेरी अस्पतालमा क्यान्सरलगायत विभिन्न रोगको पहिचान गर्ने हिस्टोप्याथोलोजी सेवा सुरु गरिएको छ।
शरीरको कुनै भागबाट निकालिएको सानो मासु (नमुना) लाई माइक्रोस्कोपबाट परीक्षण गरी रोगको अवस्था पत्ता लगाउने प्रक्रियालाई हिस्टोप्याथोलोजी भनिन्छ।
यस सेवाबाट क्यान्सर तथा अन्य गम्भीर रोगहरू समयमै पहिचान गर्न सकिने र उपचार प्रक्रिया प्रभावकारी हुने अस्पतालले जनाएको छ।
भेरी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. निराजन सुवेदीका अनुसार, अब रोग पहिचानका लागि नमुना बाहिरी सहर वा अस्पतालमा पठाउनुपर्ने बाध्यता हट्नेछ। यसले रिपोर्ट आउन ढिलाइ हुने समस्या पनि समाधान गर्ने उहाँको भनाइ छ। ‘ढिलो भए पनि अत्यन्तै आवश्यक सेवा सुरु गर्न सफल भएका छौं, यसले रोग निदानमा उल्लेखनीय सुधार ल्याउने विश्वास लिएका छौं,’ उहाँले बताउनुभयो।
प्याथोलोजी विभाग प्रमुख डा. शर्मिला गुप्ताका अनुसार, हिस्टोप्याथोलोजी सेवाले क्यान्सर, क्षयरोग (टीबी), अटो–इम्युन रोग, मिर्गौला, पेट, कलेजो जस्ता दीर्घकालीन रोगहरूको पहिचानमा महत्वपूर्ण भूमिका खेल्नेछ। यसबाट एपेन्डिस, पित्तथैली, प्रोस्टेटजस्ता अङ्गहरू रोगग्रस्त छन् वा छैनन् भन्ने कुरा पनि स्पष्ट हुने उहाँले जानकारी दिनुभयो। सेवाको विस्तारसँगै प्याथोलोजी विभाग अझ सुदृढ बनेको उहाँको भनाइ छ।
अस्पतालका कन्सल्टेन्ट प्याथोलोजिस्ट डा. सुरेशमान श्रेष्ठले हाल आधारभूत हिस्टोप्याथोलोजी सेवा सञ्चालनमा रहेको र आगामी दिनमा उन्नत स्टेनिङ तथा इम्युनोहिस्टोकेमिस्ट्रीजस्ता प्रविधि थपिने जानकारी दिनुभयो।
अस्पताल विकास समितिका सदस्य डा. डक्टप्रसाद धितालका अनुसार, पश्चिम नेपालकै पुराना संघीय अस्पतालमध्ये एक भेरी अस्पतालमा यो सेवा सुरु हुनु यहाँका बिरामीहरूका लागि ठूलो राहतको विषय बनेको छ।
अस्पतालले केही दिनभित्रै बोन म्यारो एस्पिरेसन (हड्डीभित्रको मासु निकालेर परीक्षण गर्ने प्रक्रिया) सेवा पनि सुरु गर्ने तयारी भइरहेको जनाएको छ।
गंगालाल अस्पतालको आकस्मिक कक्षमै चिकित्सक र नर्समाथि कुटपिट
शुक्रबार, माघ २३, २०८२
सरकारले बीमाको भुक्तानी नगरे महानगरले तिर्छ: मेयर महर्जन
शुक्रबार, माघ २३, २०८२
आइतबारदेखि कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप लगाइने
शुक्रबार, माघ २३, २०८२
पर्वतका ९५० किशोरीलाई एचपीभी खोप लगाइँदै
बिहीबार, माघ २२, २०८२
