नेपाल हेल्थ न्युज, काठमाडौं । सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको आकस्मिक कक्षमा कार्यरत स्वास्थ्यकर्मीमाथि कुटपिट र तोडफोडको घटना भएको छ।
अस्पताल प्रशासनका अनुसार आकस्मिक कक्षमा ड्युटीमा रहेका मेडिकल अफिसर, नर्स र सुरक्षा गार्डमाथि बिरामीका आफन्तले कार्यकक्षमै हातपात गरेका हुन्। बिहीबार सिन्धुपाल्चोकबाट उपचारका लागि ल्याइएकी ८३ वर्षीया वृद्ध महिलाको उपचारका क्रममा आफन्त आक्रोशित बनेपछि अवस्था तनावग्रस्त बनेको बताइएको छ।
अस्पताल निर्देशक डा. रवि मल्लले बिरामीको मृत्यु भएको भ्रम फैलाउँदै आफन्तले चिकित्सक र नर्समाथि आक्रमण गरेको जानकारी दिनुभयो। उहाँका अनुसार बिरामीलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो र अहिले उहाँको अवस्था सुधार भई सामान्य रहेको छ।
घटना बिहीबार दिउँसो करिब ३ बजेको समयमा भएको अस्पताल स्रोतले जनाएको छ। स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नुका साथै आकस्मिक कक्षमा तोडफोडसमेत गरिएको निर्देशक मल्लले बताउनुभयो।
घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी परिसरका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार पक्राउ पर्नेमा सिन्धुपाल्चोक निसंखु–६ का हरिबहादुर गुरुङ र सुरज गुरुङ रहेका छन्।
अस्पताल प्रशासनले चिकित्सक र नर्समाथि हातपात तथा अस्पतालमा क्षति पुर्याएको अभियोगमा उनीहरूविरुद्ध कानुनी प्रक्रिया अघि बढाउने तयारी गरेको जनाएको छ।
यसैबीच, अस्पतालका एक सुरक्षा गार्डका अनुसार कुटपिटमा संलग्न व्यक्तिहरूले सोही रात पुनः अस्पताल प्रवेश गरी थप तोडफोड गर्ने र चिकित्सक तथा नर्सलाई ज्यान मार्ने धम्कीसमेत दिएका थिए। बारम्बार राजनीतिक पहुँचको धम्की आएको भन्दै पीडित स्वास्थ्यकर्मीहरूले आफ्नो नाम सार्वजनिक नगर्न आग्रह गरेका छन्।
राप्ती र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सहकार्य सम्झौता
आइतबार, भदौ २८, २०८३
आज विश्व सेप्सिस दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै
आइतबार, भदौ २८, २०८३
जलनका बिरामीलाई कीर्तिपुर अस्पतालमा काठमाडौं महानगरको २ लाखसम्मको निःशुल्क उपचार
आइतबार, भदौ २८, २०८३
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
