नेपाल हेल्थ न्युज, काठमाडौं । पाठेघरको मुखको क्यान्सरबाट जोगिनका लागि लक्षित एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) खोप अभियान आजदेखि देशभर सुरु गरिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका अनुसार यो अभियान फागुन १५ गतेसम्म सञ्चालन हुनेछ।
राष्ट्रिय खोप कार्यक्रमअनुसार कक्षा ६ मा अध्ययनरत सबै छात्रा तथा विद्यालय बाहिर रहेका १० वर्ष उमेरका किशोरीहरूलाई एचपिभी खोप प्रदान गरिनेछ। साथै, गत वर्ष खोप लगाउन छुटेका ११ देखि १४ वर्ष उमेर समूहका बालिकाहरूलाई पनि यसपटक समेटिने जनाइएको छ।
सरकारले गत वर्ष करिब १७ लाख किशोरीलाई एचपिभी खोप उपलब्ध गराएको थियो। यस वर्ष भने करिब ३ लाख ४५ हजार किशोरीलाई खोप लगाउने लक्ष्य राखिएको छ, जसका लागि करिब ४ लाख डोज खोपको व्यवस्था गरिएको छ।
यद्यपि अत्यधिक चिसो र हिमपातका कारण मुस्ताङ, मनाङ, डोल्पा, मुगु र हुम्ला जिल्लामा खोप अभियान हालका लागि स्थगित गरिएको छ। ती हिमाली जिल्लामा भने चैत र वैशाख महिनामा खोप कार्यक्रम सञ्चालन हुने खोप शाखाले जनाएको छ।
यो अभियान सफल बनाउन करिब १० हजार स्वास्थ्यकर्मी र १५ हजार अन्य जनशक्ति परिचालन गरिनेछ। नेपालमा महिलामा देखिने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो स्थानमा पर्ने भएकाले यसको मुख्य कारण मानिने ह्युमन प्यापिलोमा भाइरसको सङ्क्रमण रोक्न खोप अत्यन्तै प्रभावकारी उपाय मानिन्छ।
टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३
नर्भिकले ४२ दशमलब १०५ प्रतिशत लाभांश वितरण गर्ने
आइतबार, भदौ २८, २०८३

