नेभिगेशन

नियमविपरीत उपचार गरिएको आरोपमा दुई डेन्टल क्लिनिक सिल गर्न सिफारिस

नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल मेडिकल काउन्सिलले काठमाडौं महानगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका दुई डेन्टल क्लिनिकलाई बन्द गरी सिल गर्न सिफारिस गरेको छ। अनुगमनका क्रममा ती क्लिनिकमा आवश्यक मापदण्ड पूरा नगरेको र गैरचिकित्सकबाट सेवा प्रदान गरिएको भेटिएपछि यस्तो सिफारिस गरिएको हो।

बिहीबार काउन्सिलको टोलीले महानगरभित्रका चार डेन्टल क्लिनिकमा अनुगमन गरेको थियो। सर्वसाधारणबाट प्राप्त उजुरीका आधारमा गरिएको अनुगमनका क्रममा केही क्लिनिकमा गम्भीर कमजोरी फेला परेको काउन्सिलले जनाएको छ।

काउन्सिलका सदस्य डा. भुमेश काफ्लेका अनुसार केही क्लिनिकमा योग्य दन्त चिकित्सक र डेन्टल हाइजिनिस्ट बिना नै सेवा सञ्चालन गरिएको पाइयो। साथै, जनस्वास्थ्यसम्बन्धी न्यूनतम मापदण्डसमेत पालना नगरेको देखिएको उनले जानकारी दिए।

अनुगमनका क्रममा पूजा डेन्टल क्लिनिक र नाइस स्माइल डेन्टल केयर प्रा.लि. दर्ता प्रक्रियाविहीन रूपमा सञ्चालनमा रहेको, अस्वस्थकर र फोहोर वातावरणमा उपचार सेवा दिइएको, उपकरणहरू उचित रूपमा स्टेरिलाइज नगरेको तथा बिरामीको अभिलेख नराखिएको पाइएको छ। बिग्रिएको अवस्थाको एक्स–रे मेसिनसमेत प्रयोगका लागि राखिएको भेटिएको काउन्सिलले उल्लेख गरेको छ।

यसैगरी, आरुबारी डेन्टल क्लिनिक जनस्वास्थ्य कार्यालयमा दर्ता नभएको र सम्बन्धित चिकित्सकसँग औपचारिक सम्झौता नभएको पाइएको छ। नागेश्वर डेन्टल होममा पूर्णकालीन दन्त चिकित्सक नराखी आंशिक समयका चिकित्सकमार्फत सेवा दिइएको अनुगमन टोलीले जनाएको छ।

काउन्सिलका अनुसार यस्ता गतिविधिले सर्वसाधारणको मुख तथा दन्त स्वास्थ्यमा प्रत्यक्ष जोखिम उत्पन्न गर्ने भएकाले आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको हो। नाइस स्माइल डेन्टल केयर प्रा.लि. र पूजा डेन्टल क्लिनिकलाई तत्काल बन्द गरी सिल गर्न काठमाडौं महानगरपालिकालाई पत्र पठाइएको जनाइएको छ। अनुगमन टोलीमा डा. अजय कुमार शाह, डा. अस्मिता पोखरेल, डा. भुमेश काफ्ले, डा. हरी वली र रमिला मानन्धर सहभागी थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट