नेपाल हेल्थ न्युज, कोलकाता । भारतको पश्चिम बंगालमा निपाह भाइरसबाट संक्रमित एक नर्सको उपचारका क्रममा मृत्यु भएको छ।
स्वास्थ्य अधिकारीहरूका अनुसार २५ वर्षीया नर्स केही साताअघि संक्रमण पुष्टि भएपछि अस्पतालमा भर्ना भएकी थिइन्। उपचारका क्रममा उनको अवस्था गम्भीर बन्दै गएपछि भेन्टिलेटरको सहारामा राखिएको थियो। पछिल्लो परीक्षणमा भाइरस नेगेटिभ देखिए पनि स्वास्थ्य अवस्था पूर्ण रूपमा सुधार हुन सकेको थिएन।
लामो समयसम्म कोमामा रहेकी ती नर्सको अन्ततः हृदयघातका कारण ज्यान गएको जनाइएको छ। उनी कार्यरत अस्पतालमै बिरामीको उपचार गर्ने क्रममा संक्रमित भएको आशंका गरिएको छ।
घटनापछि अस्पतालका स्वास्थ्यकर्मी तथा सम्पर्कमा आएका अन्य व्यक्तिहरूलाई निगरानीमा राखिएको छ। स्वास्थ्य विभागले सतर्कता बढाउँदै सम्भावित संक्रमण फैलिन नदिन आवश्यक कदम चालिएको जनाएको छ।
निपाह भाइरस उच्च जोखिमयुक्त संक्रामक रोग मानिन्छ। यसले श्वासप्रश्वास प्रणाली र मस्तिष्कमा गम्भीर असर पुर्याउन सक्छ। हालसम्म यसका लागि निश्चित खोप वा प्रभावकारी औषधि उपलब्ध छैन, त्यसैले समयमै पहिचान र सहयोगात्मक उपचारलाई नै मुख्य उपाय मानिन्छ।
विश्व स्वास्थ्य संगठन र भारतीय चिकित्सा अनुसन्धान परिषद् ले निपाहलाई उच्च जोखिमयुक्त भाइरसहरूको सूचीमा समावेश गरेका छन्। यसको मृत्यु दर ४० प्रतिशतदेखि ७५ प्रतिशतसम्म रहने गरेको बताइएको छ। निपाह भाइरस सङ्क्रमण सुँगुर, चमेरा र सङ्क्रमित मानिसबाट सर्ने गर्दछ।
अधिकारिहरूका अनुसार हाल उक्त क्षेत्रमा नयाँ संक्रमण पुष्टि भएको छैन। स्थानीय प्रशासनले सर्वसाधारणलाई स्वास्थ्य मापदण्ड पालना गर्न र शंका लागेमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरेको छ।
टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३
नर्भिकले ४२ दशमलब १०५ प्रतिशत लाभांश वितरण गर्ने
आइतबार, भदौ २८, २०८३

