नेपाल हेल्थ न्युज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रदेशमा स्वास्थ्य उपकरण खरिद प्रक्रियामा अनियमितता भएको आरोपमा दायर गरेको मुद्दा अहिले विशेष अदालतमा विचाराधीन रहेको छ। विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा न्यायाधीश हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासमा उक्त मुद्दाको सुनुवाइका लागि पेसी तोकिएको हो।
आयोगले २०८२ साल वैशाख १४ गते मधेस प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गत प्रदेश जनस्वास्थ्य प्रयोगशालाका लागि स्वास्थ्य सामग्री खरिद गर्दा प्रक्रिया विपरीत काम भएको निष्कर्षसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो।
मुद्दामा मन्त्रालयका तत्कालीन सचिव इमनारायण श्रेष्ठ, लेखा अधिकृत नवीन दास र वरिष्ठ स्वास्थ्य प्रशासक मुक्तिनारायण साहसहितका पदाधिकारीलाई प्रतिवादी बनाइएको छ। उनीहरूमाथि करिब २१ करोड ८९ लाख ९ हजार सात सय ८० रकम बराबरको बिगो दाबी गरिएको छ।
त्यसैगरी जनकपुरधामस्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालाका तत्कालीन निर्देशक डा. श्रवणकुमार मिश्र, वरिष्ठ ल्याब टेक्निसियन गुणानन्द प्रसाद साह, टेक्नोलोजिस्ट मनमोहन मिश्र तथा ल्याब टेक्नोलोजिस्ट रामउदगार साहविरुद्ध पनि समान रकमको बिगो माग गरिएको छ।
माइक्रोबायोलोजिस्ट जितेन्द्रकुमार साह, अमरेन्द्रकुमार मिश्र, मेडिकल ल्याब टेक्नोलोजिस्ट दीपेन्द्रकुमार मिश्र, ल्याब असिस्टेन्ट रमेशकुमार मण्डल, कर्मशील प्रसाद गोप, उमेश चौधरी र लेखा अधिकृत अमरदीप महतोमाथि पनि उही परिमाणको बिगो दाबी गरिएको आयोगले जनाएको छ।
यस प्रकरणमा सामग्री आपूर्ति गर्ने हस्पिटेक इन्टरप्राइजेजका सञ्चालक विशाल पण्डितलाई समेत प्रतिवादी बनाइएको छ। उनीविरुद्ध पनि करिब २१ करोड ८९ लाख रुपैयाँ बराबरको बिगो माग गरिएको छ। उक्त मुद्दामा अब अदालतको अन्तिम फैसला पर्खनुपर्ने अवस्था रहेको छ।
टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३
नर्भिकले ४२ दशमलब १०५ प्रतिशत लाभांश वितरण गर्ने
आइतबार, भदौ २८, २०८३

