नेभिगेशन

नेपाल स्वास्थ्य व्यवसायी परिषद्को लाइसेन्स परीक्षामा ६७.३१ प्रतिशत उत्तीर्ण

नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल स्वास्थ्य व्यवसायी परिषद्को १७ औँ नाम दर्ता (लाइसेन्स) परीक्षाको नतिजा सार्वजनिक भएको छ। प्रकाशित विवरणअनुसार यसपटक परीक्षामा सहभागीमध्ये ६७.३१ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन्।

परिषद्ले फागुन ५ देखि ८ गतेसम्म काठमाडौंको बबरमहलस्थित एड्भान्स एजुकेशन एण्ड इनोभेटिभ रिसर्च सेन्टरमा परीक्षा सञ्चालन गरेको थियो। चार दिनसम्म चलेको परीक्षा १५ सिफ्टमा सम्पन्न गरिएको जनाइएको छ।

परीक्षा समिति सदस्य–सचिव बसन्तकुमार श्रेष्ठका अनुसार ४४ विभिन्न विषयमा लिइएको परीक्षामा कुल ४ हजार ४७० जना सहभागी भएका थिए। तीमध्ये ३ हजार ९ जना परीक्षार्थी सफल भएका छन्। विषयअनुसार सहभागितामा फरक देखिएको छ, जहाँ केही विषयमा न्यूनतम एक जना मात्र सहभागी हुँदा केहीमा दुई हजारभन्दा बढी परीक्षार्थी रहेका थिए।

श्रेष्ठले यस वर्षको नतिजा समग्र रूपमा सन्तोषजनक रहेको उल्लेख गर्दै हालै शैक्षिक कार्यक्रम पूरा गरेका नयाँ विद्यार्थीहरूको उल्लेख्य सहभागिताले नतिजामा सकारात्मक प्रभाव पारेको हुन सक्ने बताए। उत्तीर्ण परीक्षार्थीहरूलाई प्रमाणपत्र वितरणसम्बन्धी सूचना भने परिषद्ले पछि प्रकाशित गर्ने जनाएको छ।   

page_1-1771736105.jpeg
page-22-1771736140.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट