नेपाल हेल्थ न्युज, नेपालगन्ज । नेपालगन्जस्थित भेरी अस्पतालमा रेबिजविरुद्धको ‘एन्टी–रेबिज भ्याक्सिन’ पुनः अभाव भएपछि निःशुल्क खोप सेवा प्रभावित भएको छ। आर्थिक रूपमा कमजोर र विपन्न वर्गका धेरै बिरामीले सेवा लिने यस अस्पतालमा खोप मौज्दात सकिएपछि हाल निःशुल्क खोप दिन नसकिएको अस्पताल प्रशासनले जनाएको छ।
अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. संकेत कुमार रिसालका अनुसार कुकुरले टोकेपछि लगाइने रेबिज खोप प्रदेश सरकारमार्फत प्राप्त हुँदै आएको भए पनि पछिल्लो समय आवश्यक परिमाणमा डोज नआउँदा समस्या देखिएको हो।
दैनिक दुई सयभन्दा बढी सेवाग्राही खोपका लागि आउने गरेकाले मौज्दात सकिँदा सेवा निरन्तर सञ्चालन गर्न कठिन भएको उहाँले बताउनुभयो। खोपको आपूर्ति तत्काल बढाउनुपर्ने आवश्यकता औंल्याइएको छ।
अस्पतालले प्रदेश सरकारसँग खोप उपलब्ध गराउन औपचारिक पहल गरिसकेको जनाएको छ। तर हालसम्म आपूर्ति नभएकाले सेवाग्राहीहरू निजी औषधि पसलबाट महँगो मूल्यमा खोप खरिद गर्न बाध्य भएका छन्।
स्थानीय बासिन्दाले रेबिजजस्तो ज्यानै जाने जोखिम भएको रोगको रोकथामका लागि आवश्यक खोप अभाव हुनु गम्भीर विषय भएको बताएका छन्। सर्वसाधारणलाई सहज र निःशुल्क सेवा सुनिश्चित गर्न सम्बन्धित निकायले तत्काल खोप उपलब्ध गराउनुपर्ने माग गरिएको छ। अस्पतालका अनुसार केन्द्र र प्रदेश सरकारबाट खोप प्राप्त भएपछि मात्र निःशुल्क सेवा पुनः सञ्चालन गर्न सकिनेछ।
स्वास्थ्यकर्मीमाथि हुने आक्रमण रोक्न सुरक्षा समन्वय समिति फेरि सक्रिय गरिने
मंगलबार, साउन १२, २०८३
बेबी पाउडर जोन्सन एन्ड जोन्सनले ट्याल्क मुद्दा मिलाउन ५.५ अर्ब डलर तिर्ने प्रस्ताव
मंगलबार, साउन १२, २०८३
लुम्बिनी प्रादेशिक अस्पतालमा स्वास्थ्यकर्मी माग, कुन पदमा कति ?
मंगलबार, साउन १२, २०८३
नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द
मंगलबार, साउन १२, २०८३
