नेभिगेशन

स्वास्थ्यकर्मीलाई अनावश्यक बिदा नलिन तथा लामो बिदा स्थगित गर्न निर्देशन

नेपाल हेल्थ न्युज, काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर स्वास्थ्य सेवा अविरल रूपमा सञ्चालन हुने सुनिश्चित गर्न विशेष तयारी गरेको जनाएको छ।

फागुन २१ गते हुने निर्वाचनका क्रममा सम्भावित झडप, विरोध प्रदर्शन तथा सडक अवरोधजस्ता गतिविधिबाट सेवा प्रभावित हुन नदिन पूर्वतयारी गरिएको मन्त्रालयले स्पष्ट पारेको छ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार चुनावी आमसभा, भेला तथा घरदैलो कार्यक्रमका बेला राजनीतिक दलका कार्यकर्ताबीच तनाव उत्पन्न हुन सक्ने आँकलन गरिएको छ। साथै निर्वाचन अवरोध गर्ने उद्देश्यले केही समूहले सडक बन्द गर्न वा अन्य अवरोध सिर्जना गर्न सक्ने सम्भावनालाई ध्यानमा राखेर तयारी अघि बढाइएको उहाँले बताउनुभयो।

स्वास्थ्य सेवा अवरुद्ध हुन नदिन मन्त्रालयले गृह मन्त्रालय, प्रदेश सरकार तथा स्थानीय तहसँग समन्वय तीव्र बनाएको छ। त्यसैगरी, निर्वाचन आयोगसँग पनि स्वास्थ्यकर्मी परिचालन गर्दा नियमित सेवा प्रवाहमा असर नपर्ने गरी व्यवस्थापन गर्न आग्रह गरिएको जानकारी दिइएको छ।

मन्त्रालयले सबै सरकारी तथा निजी अस्पताल र स्वास्थ्य संस्थालाई नियमित सेवा सञ्चालनमा कुनै कमी नआउने व्यवस्था मिलाउन निर्देशन दिएको छ।

स्वास्थ्यकर्मीलाई अनावश्यक बिदा नलिन र लामा बिदा स्थगित गर्न अनुरोध गरिएको छ, ताकि आकस्मिक अवस्थामा पर्याप्त जनशक्ति उपलब्ध रहोस्।

सम्भावित आपत्कालीन अवस्थालाई मध्यनजर गर्दै आवश्यक औषधि, उपकरण तथा लजिस्टिक सामग्री रणनीतिक स्थानमा भण्डारण गरिएको मन्त्रालयले जनाएको छ। आवश्यक परे आपत्कालीन मेडिकल टिम र र्‍यापिड रेस्पोन्स टिम परिचालन गरिने तयारी पनि गरिएको छ। साथै, स्वास्थ्यकर्मीलाई अभिमुखीकरण र भर्चुअल तालिमसमेत दिइएको प्रवक्ता बुढाथोकीले जानकारी दिए।

निर्वाचन अवधिभर स्वास्थ्य सेवा निरन्तर, सहज र प्रभावकारी रूपमा सञ्चालन गर्ने लक्ष्यसहित मन्त्रालयले उच्च सतर्कता अपनाएको जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट