नेभिगेशन

काठमाडौंमा ‘नेपाल फर्मा एक्स्पो २०२६’ आजदेखि सुरु

नेपाल हेल्थ न्युज, काठमाडौं । काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा आजदेखि ‘नेपाल फर्मा एक्स्पो २०२६’ सुरु हुँदैछ। नेपाली औषधि उद्योगको विकास, प्रविधि र उत्पादन क्षमताबारे जानकारी गराउने उद्देश्यले आयोजना गरिएको यो प्रदर्शनी नेपाल औषधि उत्पादक संघ (एपोन) ले सञ्चालन गर्न लागेको हो। यो एक्स्पोको १०औँ संस्करण हो।

‘फार्मामा नवीनताः भोलिको स्वास्थ्यका लागि’ भन्ने मूल नाराका साथ आयोजना गरिएको कार्यक्रमको उद्घाटन स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले विशेष समारोहबीच गर्ने कार्यक्रम तय गरिएको छ। उद्घाटनअघि बिहान ७ बजे प्रदर्शनी मार्गबाट प्रभातफेरि (वाकाथोन) पनि आयोजना गरिएको छ।

तीन दिनसम्म चल्ने एक्स्पोमा २०० भन्दा बढी स्टल रहनेछन्। आयोजकका अनुसार अधिकांश स्टल विदेशी तथा बहुराष्ट्रिय कम्पनीहरूको हुनेछन्, जसले औषधि उत्पादनमा प्रयोग हुने नयाँ कच्चा पदार्थ, प्याकेजिङ प्रविधि र आधुनिक मेसिनरीबारे जानकारी दिनेछन्। बाँकी स्टलहरूमा भने नेपाली औषधि उद्योगका उत्पादन र उपलब्धिहरू प्रस्तुत गरिनेछ।

एपोनका अनुसार नेपालमै गुणस्तरीय र अन्तर्राष्ट्रिय स्तरका औषधि उत्पादन सम्भव छ भन्ने सन्देश आम नागरिक र सम्बन्धित क्षेत्रलाई दिनु प्रदर्शनीको प्रमुख उद्देश्य हो। साथै, एक्स्पोमा औषधि उत्पादनसँग सम्बन्धित अनुसन्धान, विकास र नवीन प्रविधिबारे प्रत्यक्ष जानकारी लिन सकिने व्यवस्था गरिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र औषधि व्यवस्था विभागको सहकार्यमा आयोजना भएको यस एक्स्पोमा औषधि क्षेत्रसँग सम्बन्धित १४ वटा संघ–संस्था एसोसिएट सदस्यका रूपमा सहभागी छन्। औषधि उद्योगबारे जानकारी लिन चाहने सर्वसाधारणका लागि प्रदर्शनीमा प्रवेश निःशुल्क गरिएको आयोजकले जनाएको छ।

फागुन २८ देखि ३० गतेसम्म सञ्चालन हुने यो एक्स्पो बिहानदेखि साँझसम्म खुला रहनेछ। आयोजकले सबै नागरिक तथा सरोकारवालाहरूलाई नेपाली औषधि उद्योगको प्रगति अवलोकन गर्न प्रदर्शनीमा सहभागी हुन आग्रह गरेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट