नेपाल हेल्थ न्युज, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्रीले प्रदेश सरकार अन्तर्गतको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई विश्वविद्यालयको रुपमा विकास गरिने जानकारी दिएका छन् ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत हेटौँडा अस्पतालको थप २०० शय्याको (विशिष्टकृत सेवा ) नवनिर्मित भवनको आज शुभारम्भ गर्दै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई निकट भविष्यमै विश्वविद्यालयको रुपमा विकास गर्ने कामको थालनी गरिसकेको बताए ।
‘‘मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएका विद्यार्थी प्रमाणपत्र लिने बेलासम्ममा मदन भण्डारी स्वास्थ्य विज्ञान विश्वविद्यालय भइसक्नेछ”, मुख्यमन्त्री बानियाँले भने,‘‘त्यसका लागि प्रदेश सरकारले काम अघि बढाइसकेको छ, छिट्टै त्यसले पूर्णता पाउनेछ ।”
लोकतन्त्र गरिबको व्यवस्था भएकाले गरिबलाई सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउन प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले हेटौँडा अस्पतालमा जनशक्ति र भौतिक पूर्वाधारको अभाव हुन नदिने बताए ।
चुनाबको बेला राजनीति स्वभाविक भए पनि जनताको स्वास्थ्य र शिक्षाको क्षेत्रमा राजनीति हुन नहुने जिकिर गर्दै मुख्यमन्त्री बानियाँले स्वास्थ्य विज्ञान प्रतिष्ठानले हेटौँडा अस्पताल बाहेक प्रदेशको १३ वटै जिल्लाका अस्पतालमा पनि विशेषज्ञ सेवा दिने गरी काम गर्नुपर्ने बताए ।
प्रतिष्ठानबाट उत्पादन हुने जनशक्तिले प्रदेशका सबै जिल्ला र पालिकास्तरमा रहेका अस्पतालहरुमा पनि स्वास्थ्य सेवा पुर्याउन सहयोगी हुने विश्वासव व्यक्त गर्दै उनले अब सिक्दै र सिकाउँदै गरी शिक्षा दिनुपर्ने औँल्याए । स्वास्थ्य क्षेत्रमा सुधार गर्दै नागरिकलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउन प्रदेश सरकार प्रयासरत रहेको बताउँदै मुख्यमन्त्री बानियाँले हेटौँडा अस्पतालमा यसअघि डाइलोसिस सेवाका लागि १४ वटा मेसिन जडान गरिएकोमा अहिले एकै पटक थप १६ वटा बढाएर ३० वटा पुर्याइएको बताए ।
बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री किरण थापा मगरले प्रदेश अन्तर्गतका जिल्ला अस्पताल तथा स्वास्थ्य संस्थामा औषधि तथा उपकरणको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरे । गरिबका छोराछोरीलाई डाक्टर बन्न प्रदेश सरकारले छात्रवृत्ति लगायतका कार्यक्रमसमेत सञ्चालन गरेको बताउँदै स्वास्थ्यमन्त्री थापा मगरले उपचारको अभावमा कुनै पनि नागरिकलाई ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य गरिने बताए ।
पूर्वमुख्यमन्त्री डोरमणि पौडेल, प्रदेश सरकारका पूर्व स्वास्थ्यमन्त्री एकालाल श्रेष्ठ लगायतले अस्पतालको भवन निर्माणसँगै अस्पतालको सेवा विस्तारमा सहजता ल्याउने विश्वास व्यक्त गरे ।
सहरी विकास तथा भवन कार्यालय मकवानपुर हेटौँडाका प्रमुख इञ्जिनियर भूपेन्द्रकुमार यादवका अनुसार भ्याटसहित कूल रु २६ करोड ६४ लाख २५ हजार २८० को लागतमा सो अस्पताल भवन निर्माण गरिएको हो ।
इनिसा हत्या प्रकरणको पोस्टमार्टम रिपोर्टले के भन्छ ?
बिहीबार, फागुन २८, २०८२
नेपाललाई औषधिमा आत्मनिर्भर बनाउन उद्योगहरूलाई स्वास्थ्यमन्त्रीको आग्रह
बिहीबार, फागुन २८, २०८२
आज विश्व मिर्गौला दिवस, विभिन्न चेतनामूलक कार्यक्रम गरेर मनाइँदै
बिहीबार, फागुन २८, २०८२
मेघा चौधरी मोरोक्कोका लागि अवैतनिक महावाणिज्यदूत नियुक्त
बिहीबार, फागुन २८, २०८२
