नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रमलाई थप डिजिटल र व्यवस्थित बनाउन स्वास्थ्य बीमा बोर्डले राष्ट्रिय परिचयपत्र प्रणालीसँग सहकार्य सुरु गरेको छ। यस सहकार्यसँगै आगामी दिनमा स्वास्थ्य बीमा सेवा क्रमशः राष्ट्रिय परिचयपत्र (एनआईडी) नम्बरमा आधारित बनाउने तयारी गरिएको छ।
यसका लागि स्वास्थ्य बीमा बोर्ड र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ। समझदारीपत्रमा विभागका महानिर्देशक नमराज घिमिरे र बोर्डका कार्यकारी निर्देशक डा. कृष्ण प्रसाद पौडेलले हस्ताक्षर गरेका छन्।
स्वास्थ्य बीमा बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार यो सहकार्यपछि स्वास्थ्य बीमाको दर्ता र नवीकरण प्रक्रिया क्रमशः अनलाइनमार्फत सञ्चालन गर्ने योजना बनाइएको छ। बोर्डले चैत २५ गतेसम्म नयाँ दर्ता अनलाइन प्रणालीबाट सुरु गर्ने लक्ष्यसहित तयारी गरिरहेको उनले जानकारी दिए।
उनका अनुसार भविष्यमा स्वास्थ्य बीमाको छुट्टै कार्ड प्रयोग गर्ने व्यवस्था हटाउँदै नागरिकको राष्ट्रिय परिचयपत्र नम्बरकै आधारमा सेवा उपलब्ध गराउने प्रणाली विकास गर्ने तयारी भइरहेको छ।
एनआईडी प्रणालीसँग स्वास्थ्य बीमा जोडिएपछि डाटा प्रमाणीकरण सजिलो हुने, दोहोरो दर्ता कम हुने तथा कार्डको दुरुपयोग नियन्त्रण हुने अपेक्षा गरिएको बोर्डले जनाएको छ।
हाल देशभर करिब एक करोड नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भइसकेका छन्। तर म्यानुअल प्रक्रियाका कारण कतिपय स्थानमा एउटै व्यक्तिको विवरण दोहोरिने, उमेर वा व्यक्तिगत विवरण नमिल्ने जस्ता समस्या देखिएको बोर्डको भनाइ छ।
एनआईडी नम्बरमार्फत प्रणाली जोडिएपछि यस्ता समस्या न्यून हुने विश्वास गरिएको छ। डिजिटल प्रणाली विस्तार भएसँगै नागरिकले आफैं अनलाइनबाट स्वास्थ्य बीमामा दर्ता गर्न तथा नवीकरण गर्न सक्ने सुविधा पाउनेछन्। साथै आगामी दिनमा सेवा लिँदा बायोमेट्रिक प्रमाणीकरणसमेत लागू गर्ने योजना बोर्डले बनाएको छ।
नयाँ व्यवस्था लागू भएपछि स्वास्थ्य बीमाको दर्ता तथा नवीकरण प्रक्रिया सहज हुने र परिचयपत्रमा रहेको विवरणकै आधारमा डिजिटल प्रमाणीकरण भएपछि सेवाग्राहीले अस्पताल तथा सेवा केन्द्रहरूमा छिटो सेवा पाउने अपेक्षा गरिएको छ।
राप्ती र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सहकार्य सम्झौता
आइतबार, भदौ २८, २०८३
आज विश्व सेप्सिस दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै
आइतबार, भदौ २८, २०८३
जलनका बिरामीलाई कीर्तिपुर अस्पतालमा काठमाडौं महानगरको २ लाखसम्मको निःशुल्क उपचार
आइतबार, भदौ २८, २०८३
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
