नेपाल हेल्थ न्युज, काठमाडौं । तौल घटाउने औषधिको सस्तो जेनेरिक संस्करण बजारमा तीव्र रूपमा फैलिन थालेपछि भारतले त्यसको दुरुपयोग र स्वास्थ्य जोखिमबारे कडा चेतावनी दिएको छ । स्वास्थ्य मन्त्रालयले औषधि प्रयोगमा अनियमितता बढ्न सक्ने भन्दै निगरानी र कार्यान्वयन कडा बनाएको जनाएको छ ।
ओजेम्पिक र वेगोवी जस्ता औषधिमा प्रयोग हुने सक्रिय तत्व सेमाग्लुटाइडको पेटेन्ट मार्च २० मा समाप्त भएसँगै भारतमा यसको जेनेरिक उत्पादन तीव्र रूपमा बजारमा आएको छ । विश्वकै सबैभन्दा ठूलो जेनेरिक औषधि आपूर्तिकर्ता मानिने भारतमा यसले मूल्य घटाउँदै पहुँच बढाएको छ ।
जीएलपी–१ वर्गका यी औषधिहरूले रगतमा ग्लुकोजको स्तर र भोक नियन्त्रण गर्ने हर्मोनलाई प्रभाव पार्ने भएकाले मोटोपनाविरुद्ध प्रभावकारी मानिन्छन् । तर स्वास्थ्य मन्त्रालयले यस्ता औषधि चिकित्सकको सिफारिसबिना प्रयोग गर्दा गम्भीर साइड इफेक्ट देखिन सक्ने चेतावनी दिएको छ ।
मन्त्रालयका अनुसार हाल बजारमा विभिन्न जेनेरिक भेरियन्टहरू उपलब्ध भएसँगै खुद्रा औषधि पसल, अनलाइन प्लेटफर्म, थोक विक्रेता र वेलनेस क्लिनिकमार्फत अनियन्त्रित रूपमा बिक्री हुने जोखिम बढेको छ । “उचित चिकित्सकीय निगरानी बिना प्रयोग गर्दा गम्भीर स्वास्थ्य समस्या निम्तिन सक्छ”, मन्त्रालयले स्पष्ट पारेको छ ।
यसैसँगै भारतको औषधि नियामक निकायले निरीक्षण कडा बनाउँदै उत्पादकहरूलाई भ्रामक प्रचार र औषधिको गलत प्रयोगलाई प्रोत्साहन गर्ने गतिविधिमा प्रतिबन्ध लगाएको जनाएको छ ।
विश्व मोटोपना महासङ्घका अध्यक्ष साइमन बार्केराले औषधिले मात्र मोटोपनाको समस्या समाधान नहुने बताउनुभयो । उहाँका अनुसार मोटोपना जटिल र दीर्घकालीन रोग भएकाले स्वस्थ जीवनशैली र रोकथामका उपाय उत्तिकै आवश्यक हुन्छन् ।
भारतमा तौल घटाउने औषधिको बजार पछिल्ला पाँच वर्षमा तीव्र रूपमा बढेको छ । सन् २०२६ सम्ममा यसको कारोबार १५ करोड ३० लाख डलर पुगेको छ भने सन् २०३० सम्ममा आधा अर्ब डलर नाघ्ने अनुमान गरिएको छ ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वको कुपोषणको एक तिहाइ हिस्सा अझै भारतमै रहेको भए पनि बढ्दो आय र सहरी जीवनशैलीका कारण मोटोपनाको दर तीव्र रूपमा बढिरहेको छ । सरकारी तथ्याङ्कअनुसार भारतमा २४ प्रतिशत महिला र २३ प्रतिशत पुरुष अधिक तौल वा मोटोपनाको समस्यामा छन् ।
यसअघि यस्ता औषधिको मासिक खर्च १५ हजारदेखि २२ हजार भारतीय रुपैयाँसम्म पर्ने भएकाले प्रयोग सीमित थियो । तर पेटेन्ट सकिएपछि जेनेरिक सेमाग्लुटाइड औषधिको मूल्य घटेर एक हजार ३०० देखि चार हजार २०० रुपैयाँसम्म पुगेको छ, जसले प्रयोगको दायरा विस्तार गरेको छ ।
यद्यपि सस्तो मूल्यसँगै अनियन्त्रित प्रयोगको जोखिम बढेकाले भारतले औषधिको सुरक्षित प्रयोगमा विशेष सतर्कता अपनाउनुपर्ने आवश्यकता औँल्याएको छ।
रास्वपा मन्त्री चयनको अन्तिम तयारीमाः स्वास्थ्यमन्त्रीमा कस्को नाम अघि ?
मंगलबार, चैत १०, २०८२
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको भ्रष्टाचार मुद्दामा सुनुवाइको पेसी तोकियो
मंगलबार, चैत १०, २०८२
ज्येष्ठ नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा
मंगलबार, चैत १०, २०८२
एक खिल्ली चुरोटले २० मिनेट आयु घटाउँछ ? के भन्छन् विज्ञ
मंगलबार, चैत १०, २०८२
