नेभिगेशन

औषधिको मूल्यवृद्धिमा अर्बौँ अनियमितता, सांसद खत्रीले गरे कारबाहीको माग

नेपाल हेल्थ न्युज, काठमाडौं । औषधिको मूल्यमा भएको अस्वाभाविक वृद्धिलाई लिएर संघीय संसद्मा गम्भीर बहस भएको छ। औषधि खरिदमा नेपाली नागरिकले अत्यधिक आर्थिक भार वहन गर्नुपरेको विषय उठाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का राजीव खत्रीले सांसदले तत्काल छानबिन र कारबाहीको माग गरेका छन्।

सांसदले औषधि व्यवस्था विभागको नेतृत्व तहबाट कानुनी प्रक्रिया पूरा नगरी विभिन्न ब्रान्डका औषधिको मूल्य बढाइएको आरोप लगाए। उनले महालेखा परीक्षकको प्रतिवेदन उद्धृत गर्दै आर्थिक वर्ष २०७६/०७७ मा दर्ता तथा नवीकरण भएका औषधिमध्ये उल्लेख्य संख्यामा मूल्य वृद्धि गरिएको र केही औषधिमा करिब एकतिहाइसम्म मूल्य बढाइएको दाबी गरे।

प्रचलित कानुनअनुसार औषधिको मूल्य निर्धारण वा परिमार्जन गर्दा सम्बन्धित समितिको सिफारिस, मन्त्रिपरिषद्को स्वीकृति तथा राजपत्रमा प्रकाशन आवश्यक पर्ने व्यवस्था रहे पनि ती प्रक्रिया पालना नगरी निर्णय गरिएको उनले बताए।

यस विषयमा विगतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परे पनि अनुसन्धान प्रक्रिया सुस्त रहेको भन्दै सांसदले असन्तुष्टि जनाए। लामो समयदेखि औषधिको मूल्य वृद्धि हुँदै आएको र यसले अर्बौँ रुपैयाँ बराबरको आर्थिक अनियमितता भएको आशंका पनि उनले व्यक्त गरे।

स्वास्थ्य क्षेत्रमा औषधिमा हुने खर्चले ठूलो हिस्सा ओगट्ने विभिन्न अध्ययनहरू देखाउँदै उनले महँगो उपचार प्रणालीका कारण मध्यम वर्गीय परिवार प्रभावित भइरहेको र विपन्न वर्ग उपचारबाट वञ्चित हुने जोखिम बढेको बताए।

अन्त्यमा उनले सम्बन्धित निकायलाई औषधि क्षेत्रमा देखिएको अनियमितता नियन्त्रण गर्न, पारदर्शिता कायम गर्न र दोषीमाथि कडा कारबाही गर्न आग्रह गरेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट