नेभिगेशन

नेपाल चिकित्सक संघको निर्वाचन उपत्यका बाहिर आज र भोलि मतदान सुरु: तीन प्यानलबीच कडा प्रतिस्पर्धा

add final

नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल चिकित्सक संघ (एनएमए) को नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया शुक्रबारदेखि औपचारिक रूपमा सुरु भएको छ। संघको विधानअनुसार १९ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गर्न उपत्यका बाहिर शुक्रबार र शनिबार मतदान हुनेछ भने काठमाडौं उपत्यकाभित्र वैशाख १७ र १८ गते मतदानको तालिका तय गरिएको छ।

यसपटकको निर्वाचनमा तीन समूहबीच प्रतिस्पर्धा हुँदैछ। डा. बद्री रिजाल, डा. मंगल रावल र डा. नारायण भुषालले आ–आफ्नो प्यानलसहित उम्मेदवारी दिएका छन्। तीनै समूहबाट गरी कुल ५५ जना उम्मेदवार मैदानमा छन्।

उपत्यकाबाहिर विराटनगर, धरान, राजविराज, लहान, जनकपुर, वीरगंज लगायतका सहरहरूमा मतदान केन्द्र तोकिएका छन्। त्यसैगरी चितवन, पोखरा, बुटवल, नेपालगञ्ज, धनगढी, सुर्खेत, दाङ, जुम्ला, पाल्पा, हेटौंडा, तनहुँ, रौतहट र काभ्रेका विभिन्न स्वास्थ्य संस्थामा पनि मतदान हुनेछ।

झापाको दमकमा भने वैशाख ४ गते मात्रै मतदान हुनेछ भने बिर्तामोड र डडेलधुरामा वैशाख ५ गते मतदान हुने निर्वाचन समितिले जनाएको छ। मतदान बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ।

डा. बद्री रिजाल समूहबाट अध्यक्षमा स्वयं रिजाल उम्मेदवार छन् भने वरिष्ठ उपाध्यक्ष, महासचिव, कोषाध्यक्षलगायतका पदहरूमा पनि उनका प्यानलका सदस्यहरू प्रतिस्पर्धामा छन्। प्रदेश संयोजक र सदस्य पदमा पनि उनीहरूको छुट्टै टोली रहेको छ।
त्यस्तै, डा. मंगल रावल समूहले पनि अध्यक्षदेखि सदस्यसम्मका सबै पदमा आफ्ना उम्मेदवार खडा गरेको छ। उनका प्यानलमा विभिन्न प्रदेशका संयोजक र सदस्य उम्मेदवारहरू समावेश छन्।

टिम रिफर्म’ का रूपमा चिनिएको डा. नारायण भुषाल समूहले पनि अध्यक्षसहित सबै प्रमुख पदमा उम्मेदवारी दिएको छ। उनीहरूको टोलीमा पनि प्रदेश संयोजक र सदस्यका लागि छुट्टै उम्मेदवार छन्। संघको विधानअनुसार अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, सातै प्रदेशबाट १–१ जना उपाध्यक्ष, महासचिव १, कोषाध्यक्ष १, सहसचिव १, सह–कोषाध्यक्ष १ र ६ सदस्य गरी कुल १९ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित हुने व्यवस्था रहेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट