नेपाल हेल्थ न्युज, हेटौँडा । बागमती प्रदेश सरकारले स्वास्थ्य सेवामा व्यापक सुधार र विस्तार गर्दै सबै नागरिकको सहज पहुँच सुनिश्चित गर्न विभिन्न कार्यक्रम अघि बढाएको छ। प्रदेश सरकारका अनुसार १३ वटै जिल्ला अस्पताललाई प्रादेशिक अस्पतालका रूपमा स्तरोन्नति गरी विशेषज्ञ सेवा विस्तार गर्ने कार्यलाई प्राथमिकतामा राखिएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार जिल्लास्तरमै डायलोसिस, प्रसूति तथा स्त्रीरोग सेवा विस्तार भइरहेको छ भने प्रदेशभरका प्रादेशिक अस्पतालहरूमा डिजिटल हेल्थ प्रणालीमार्फत सेवा प्रवाह सुरु गर्ने काम पनि अघि बढाइएको छ। यससँगै स्वास्थ्य संस्थामा अनलाइन टिकटको व्यवस्था गरिँदा सेवाग्राहीले लाइनमा बस्नुपर्ने झन्झट हटेको मन्त्रालयले जनाएको छ।
स्वास्थ्यमन्त्री किरण थापा मगरका अनुसार ‘एक जिल्ला एक हेल्थ सिटी’, ‘एक विद्यालय एक नर्स’ र ‘एक पालिका एक नमुना अस्पताल’ जस्ता कार्यक्रम सञ्चालनमा ल्याइएको छ।
साथै, निःशुल्क रक्तसञ्चार सेवा प्रभावकारी बनाउन नेपाल रेडक्रस सोसाइटीसँग समन्वय गरी गरिब तथा विपन्न नागरिकलाई प्रादेशिक अस्पतालबाट निःशुल्क सेवा उपलब्ध गराउने व्यवस्था मिलाइएको छ।
मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमलाई संशोधन गरी सबै वडामा नसर्ने रोगको परीक्षण र उपचारको पहुँच विस्तार गरिएको छ। यससँगै ‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी’ अभियानमार्फत समुदायस्तरमा स्वास्थ्य सचेतना कार्यक्रम सञ्चालन भइरहेको छ। प्रदेशका १३ वटै अस्पतालमा मानसिक स्वास्थ्य समस्या भएका बिरामीलाई निःशुल्क उपचार सेवा प्रदान गर्न थालिएको मन्त्रालयले जनाएको छ।
स्वास्थ्य सहरको अवधारणाअनुसार हेटौँडा, चन्द्रागिरि र मेलम्ची नगरपालिकामा कार्यक्रम अघि बढाइएको छ भने प्रत्येक जिल्लामा कम्तीमा एक स्वास्थ्य संस्थालाई नमुना संस्थाका रूपमा विकास गर्ने प्रक्रिया सुरु गरिएको छ। साथै, भक्तपुर, सिन्धुली, बकुलहर र धादिङ अस्पतालमा नर्सिङ प्रमाणपत्र तह सञ्चालनका लागि तयारी भइरहेको छ र भक्तपुर अस्पतालमा डायलोसिस सेवा सुरु भइसकेको छ।
प्रदेश सरकारले आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवा विस्तारलाई पनि जोड दिएको छ। सिन्धुलीमा सेवा सुरु भइसकेको छ भने मकवानपुर र रामेछापमा छिट्टै सञ्चालन गर्ने तयारी भइरहेको छ। आयुर्वेद औषधि उत्पादन केन्द्रबाट विभिन्न १० प्रकारका औषधि उत्पादन गरी निःशुल्क वितरण भइरहेको छ भने थप ११ प्रकारका औषधि उत्पादनको प्रक्रिया अघि बढाइएको छ।
यसैबीच, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडी, एमएस कार्यक्रमसँगै यस वर्षदेखि एमबिबिएस कार्यक्रम पनि सुरु गरिएको छ, जसअन्तर्गत ५० विद्यार्थीलाई अध्यापन गरिँदैछ।
प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव डा. सुमित्रा गौतमका अनुसार सीमान्तकृत, अपाङ्गता भएका व्यक्ति, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका र श्रमजीवी पत्रकारका लागि स्वास्थ्य बिमा कार्यक्रम अघि बढाइएको छ। साथै, ‘सबै नीतिमा स्वास्थ्य’ अवधारणाअनुसार स्वास्थ्य निर्देशिका जारी गरिएको उनले जानकारी दिइन्।
स्वास्थ्य संस्थामा पनि साताको दुई दिन बिदा लागू
शुक्रबार, वैशाख ४, २०८३
छ सय विद्यार्थीको निःशुल्क स्वास्थ्य बिमा
शुक्रबार, वैशाख ४, २०८३
नेपाल चिकित्सक संघको निर्वाचन उपत्यका बाहिर आज र भोलि मतदान सुरु: तीन प्यानलबीच कडा प्रतिस्पर्धा
शुक्रबार, वैशाख ४, २०८३


