नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ले अस्पताल तथा स्वास्थ्य संस्थाभित्र हुने गैरकानुनी गतिविधि नियन्त्रण गर्न कडा चेतावनी जारी गरेको छ।
बिरामी र स्वास्थ्यकर्मीको स्वीकृतिबिना फोटो तथा भिडियो खिच्ने, अनावश्यक भिडभाड गर्ने र उपचार प्रक्रियामा अवरोध पुर्याउने घटनाहरू बढ्दै गएपछि मन्त्रालयले यस्तो कदम चालेको हो।
मन्त्रालयले आज सार्वजनिक गरेको विज्ञप्तिमा अस्पताललाई अत्यन्तै संवेदनशील क्षेत्रका रूपमा उल्लेख गर्दै स्वीकृतिबिना भिडियो बनाउने, स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्ने वा दबाब सिर्जना गर्ने कार्यलाई कानुनको ठाडो उल्लङ्घन भएको स्पष्ट पारेको छ। यस्ता गतिविधि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ तथा मुलुकी अपराध संहिता २०७४ विपरीत रहेको मन्त्रालयले जनाएको छ।
विज्ञप्तिअनुसार, यस्ता कार्यले बिरामीको गोपनीयता हनन गर्नुका साथै उपचार प्रक्रियामा गम्भीर असर पार्ने भएकाले स्वीकृतिबिना फोटो वा भिडियो नखिच्न सबैलाई अनुरोध गरिएको छ।
त्यस्तै, कानुनविपरीत गतिविधिमा संलग्न व्यक्तिलाई कडा कारबाही गर्न जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा निकायलाई निर्देशन दिइएको मन्त्रालयले जनाएको छ।
उपचारमा त्रुटि भएको आशंका भएमा भने सम्बन्धित निकायमा औपचारिक रूपमा उजुरी दिन सकिने विकल्प रहेको मन्त्रालयले स्पष्ट पारेको छ। मन्त्रालयको यो कदमले अस्पतालको वातावरण सुरक्षित, व्यवस्थित र बिरामीमैत्री बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

लामो समयपछि स्वास्थ्यकर्मी सुरक्षा समन्वय समितिको बैठक सम्पन्न
बुधबार, साउन १३, २०८३
सुत्केरीलाई ६ महिना तलबी बिदा दिने प्रस्ताव
बुधबार, साउन १३, २०८३
नेपालमै पहिलो पटक न्यून चिरफार विधिबाट मुटुका तीनवटै भल्भको सफल शल्यक्रिया
बुधबार, साउन १३, २०८३
मेयरका छोरा डा. यादवले एकै पटक गरे साउनभरिको हाजिर
बुधबार, साउन १३, २०८३
