नेपाल हेल्थ न्युज, चितवन । चितवन मेडिकल कलेज (सिएमसी)को नेतृत्वमा काठमाडौंको तीनकुने र मकवानपुरको हेटौंडामा अतिविशिष्टकृत सेवासहितका अस्पताल सञ्चालन गर्ने भएको छ ।
तीनकुनेको अस्पताल निर्माणको अन्तिम चरणमा पुगेको छ भने हेटौंडामा हालै शिलान्यास गरिएको हो । चितवन मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिश्चन्द्र न्यौपानेले सिएमसी काठमाडौंको नामबाट आगामी दशैँको घटस्थापनादेखि अस्पताल सञ्चालन हुने बताए ।
शत्र रोपनी जमिनमा रु १२ अर्बभन्दा बढी लगानी गरेर अस्पताल सञ्चालन गर्न लागिएको हो । सञ्चालनको सुरुमा नै भारतको मेदान्त अस्पतालले यसको व्यवस्थापन गर्ने न्यौपानेले बताए ।
क्यान्सरसहित अतिविशिष्टिकृत सेवा अस्पतालले दिने छ । उनले भने, “विश्वका सुविधासम्पन्न अस्पतालले दिन सक्ने सेवा यही दिने गरी ठूलो लगानीमा अत्याधुनिक उपकरणसहितको अस्पताल सञ्चालन गर्दैछौँ ।” तीन सय श्ययाको यस अस्पतालले प्रमुख रुपमा क्यान्सरको उपचार गर्ने छ भने यससँगै सबै खालका विशेषज्ञ सेवा अस्पतालले दिने छ । विश्वका विभिन्न देशमा अध्ययन गरेका अनुभवी विशेषज्ञ चिकित्सकहरुले अस्पतालबाट सेवा दिने छन् ।
नेपाली लगानीको निजी क्षेत्रको सबैभन्दा ठूलो अस्पताल यो हुने उनले बताए । यस अस्पताल सञ्चालनमा आएसँगै भारतलगायतका देशहरु जाने बिरामीले सोहीअनुरुपको सेवा नेपालमा पाउने प्रा डा न्यौपानेको दाबी छ ।
यस्तै चितवन मेडिकल कलेजको नेतृत्वमा हेटौँडामा सिएमसी हेटौँडा अस्पतालको निर्माण थालिएको छ । हेटौंडा उपमहानगरपालिका–४ मा अवस्थित, राजमार्गसँगै १९ कट्ठा जमिनमा निर्माण थालिएको हो ।
अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रताप देवकोटाले विसं २०८४ को दशैँबाट सेवा सुरु गर्ने गरी एक सय श्यया अतिविशिष्टिकृत अस्पताल सञ्चालन गर्न लागिएको बताउनुभयो । रु दुई अर्ब ५० करोड हाराहारी लगानी हुने अनुमान गरिएको छ ।
सिएमसीको नेतृत्वमा स्थानीय समेत साझेदार रहेको यस अस्पताल सुरु भएसँगै मकवानपुर र आसपासका जिल्लाका बासिन्दा लाभान्वित हुने उनले बताए। सँगै स्थानीयले रोजगारीको अवसर पाउने भएका छन् । हाल ती क्षेत्रका बिरामी विशिष्टिकृत सेवाका लागि भरतपुर, काठमाडौँ र भारतसमेत जानुपर्ने बाध्यता रहेको छ ।
बीस वर्षअघि भरतपुर महानगरपालिका–१० मा स्थापना भएको चितवन मेडिकल कलेजले सात सय श्ययाबाट सेवा दिँदै आएको छ । नेपालका मेडिकल कलेजहरुमा धेरै बिरामी हेर्नेमध्यको एक यस अस्पतालले त्रिभुवन विश्वविद्यालयका स्वास्थ्यका शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ । रासस
सरकारी कर्मचारी र स्वास्थ्यकर्मी गरेर १२ ट्रेड युनियन दर्ता खारेज
बिहीबार, वैशाख २४, २०८३
स्वास्थ्य क्षेत्रमा ९७७ नयाँ स्थायी दरबन्दी थपिने प्रस्ताव अर्थ मन्त्रालयबाट स्वीकृत
बिहीबार, वैशाख २४, २०८३
एटलान्टिक क्रुज जहाजमा हान्ता भाइरस प्रकोप, तीन जनाको मृत्यु
बिहीबार, वैशाख २४, २०८३
वीर अस्पतालका निर्देशक डा.दिलीप शर्माले दिए राजीनामा
बुधबार, वैशाख २३, २०८३

