नेपाल हेल्थ न्युज, काठमाडौं । पाठेघरको मुखको क्यान्सरका प्रारम्भिक लक्षणहरू प्रायः महिनावारीसँग सम्बन्धित हुन्छन् । कतिपय अवस्थामा महिनामा दुई पटक वा दुई पटकभन्दा बढी महिनावारी हुनसक्छ । हर्मोन उपचार, डिपो र परिवार नियोजनका हर्मोनल चक्की सेवन गरिरहेका महिलामा पनि अनियमित रक्तस्राव देखिन सक्छ ।
त्यसैले चिकित्सकको सल्लाहअनुसार आवश्यक परीक्षण गराउन जरुरी हुन्छ । लामो समयदेखि ढाड दुख्ने कतिपय महिलाहरुमा पनि फैलिसकेको अवस्थामा पाठेघरको मुखको क्यान्सर भएको पाइएको छ । उनीहरुमा योनीबाट रगत मिसिएको दुर्गन्धयुक्त पानी बग्ने, रगतका चोक्टा झर्ने, ढाड दुख्ने, दिसा–पिसाबसम्बन्धी समस्या देखिन सक्छन् ।
पाठेघरको मुखको क्यान्सर रोग लाग्नुअघि नै पत्ता लगाउन सकिने क्यान्सर हो । यसको मुख्य कारण ह्युमन पापिलोमा भाइरस हो । एचपिभी संक्रमण भएको थोरै व्यक्तिमा मात्र १२–१५ वर्षपछि क्यान्सर हुनसक्छ ।
भिआईए, प्याप टेष्ट र एचपिभी डिएनए परीक्षणबाट संक्रमण भए–नभएको थाहा पाउन सकिन्छ । तर तथ्याङ्क हेर्दा नेपालमा हाल करिब ११ प्रतिशत महिलामात्र स्क्रिनिङको पहुँचमा पुगेका छन् । यस अवस्थामा सरकारले अझ प्रभावकारी र व्यापक रुपमा स्क्रिनिङलाई स्केल अप गर्न जरुरी छ ।
नेपाल सरकारको मापदण्ड अनुसार ३० देखि ६० वर्ष उमेर समूहका महिलाहरूले नियमित स्क्रिनिङ गर्नुपर्छ । कुनै पनि महिला यौन क्रियाकलापमा सक्रिय भएको दोस्रो वर्षदेखि स्क्रिनिङ सुरु गर्नुपर्छ ।
सरकारले १० देखि १४ वर्ष उमेर समूहका बालबालिका, कक्षा ६ देखि १० सम्म अध्ययनरत तथा विद्यालय नजाने बालबालिकालाई समेत एचपिभी खोप लगाउन उपयुक्त मानेको छ । १५ वर्षभन्दा माथिका उमेर समूहमा खोप छुटेका विषयमा पनि समाधान खोज्ने प्रयासहरू भइरहेका छन् । धेरै व्यक्तिसँग यौन सम्पर्क नगरेकामा पनि एचपिभी संक्रमण हुनसक्छ ।
तर डराउनु, लाज मान्नु वा आत्तिनुपर्दैन । यस्ता धेरै यौन संक्रमण समयसँगै आफैँ निको हुन्छन् । तर करिब ५ देखि १० प्रतिशत व्यक्तिहरूमा भने एचपिभी संक्रमण लामो समयसम्म रहन सक्ने भएकाले क्यान्सर गराउन सक्छ ।
साथै एचपिभी खोप लगाइसकेपछि स्क्रिनिङ नगर्ने भन्ने हुँदैन । यौन क्रियाकलापमा सक्रिय भएकाहरुले नियमित स्क्रिनिङ गर्नैपर्छ । यसले क्यान्सर हुन पूर्व उपचार गर्न सकिन्छ । त्यसैले महिलाले आफ्नो स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्न जरुरी छ ।
स्वास्थ्यकर्मीमाथि हुने आक्रमण रोक्न सुरक्षा समन्वय समिति फेरि सक्रिय गरिने
मंगलबार, साउन १२, २०८३
बेबी पाउडर जोन्सन एन्ड जोन्सनले ट्याल्क मुद्दा मिलाउन ५.५ अर्ब डलर तिर्ने प्रस्ताव
मंगलबार, साउन १२, २०८३
लुम्बिनी प्रादेशिक अस्पतालमा स्वास्थ्यकर्मी माग, कुन पदमा कति ?
मंगलबार, साउन १२, २०८३
नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द
मंगलबार, साउन १२, २०८३
