नेपाल हेल्थ न्युज, काठमाडौं । नेपालकै अग्रणी निजी क्षेत्रद्वारा सञ्चालित नर्भिक इन्टरनेशनल हस्पिटलले काठमाडौंमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ स्थापना गर्ने घोषणा गरेको छ। यस संस्थानमार्फत देशभरका क्यान्सर बिरामीहरूलाई एकै छानामुनि समग्र उपचार सेवा उपलब्ध गराउने लक्ष्य राखिएको छ।
अन्तर्राष्ट्रिय नर्सिङ दिवसको अवसरमा अस्पतालमा आयोजित नर्सिङ अवार्ड कार्यक्रममा नर्भिक अस्पतालका अध्यक्ष राजेन्द्रबहादुर सिंहले संस्थान स्थापनाको घोषणा गरेका हुन्।
अस्पतालकी निर्देशक मेघा चौधरीका अनुसार करिब ३ अर्ब ५० करोड रुपैयाँ लगानीमा निर्माण हुने यो परियोजना आगामी ३ वर्षभित्र सञ्चालनमा आउनेछ।
निर्देशक चौधरीले बताइन् कि संस्थानले विश्वस्तरका दिशानिर्देशअनुसार उन्नत प्रविधिको प्रयोग गर्दै विश्वसनीय निदान सेवा, शल्यक्रिया, किमोथेरापी, रेडियसन थेरापी तथा उपशामक सेवा (प्यालियटिभ केयर) प्रदान गर्नेछ। बालबालिका देखि वृद्धवृद्धासम्म सबै उमेर समूहका क्यान्सर बिरामीहरूलाई मेडिकल, सर्जिकल, रेडियसन, हेमाटोलोजी र जेरियाट्रिक सेवाहरू अनुभवी विशेषज्ञ चिकित्सकहरूको निगरानीमा उपलब्ध गराइनेछ।
संस्थानले अनुसन्धान र शैक्षिक गतिविधिहरू पनि सञ्चालन गर्नेछ। यसमा क्यान्सर मनोविज्ञान, जेनोमिक्स लगायत अन्य विशिष्टीकृत अनुसन्धान कार्य अन्तर्राष्ट्रिय विश्वविद्यालय र शिक्षण संस्थाहरूसँगको सहकार्यमा अघि बढाइनेछ।
नर्भिकले अमेरिका, सिंगापुर र भारतका अग्रणी क्यान्सर उपचार तथा अनुसन्धान केन्द्रहरूसँग सहकार्य गर्दै नवीनतम प्रविधिको विकास र प्रयोग नेपालमा परिचित गराउने लक्ष्य राखेको छ। यस संस्थानमार्फत चिकित्सक र वैज्ञानिकबीच प्रविधि हस्तान्तरण र ज्ञान आदान—प्रदानसमेत हुने छ।
निर्देशक चौधरीले भनिन्, “नेपालमा एकीकृत र विस्तारित क्यान्सर उपचारको विश्वसनीय थलोको अभावका कारण धेरै बिरामीहरू विदेश जान बाध्य छन्, जसबाट वर्षेनी अरबौं रुपैयाँ विदेशिने गरेको छ। नर्भिक एकीकृत क्यान्सर उपचार संस्थानको स्थापना पश्चात् यो निर्भरता घट्ने र स्वदेशमै विश्वस्तरीय क्यान्सर उपचार सेवा सहज हुने अपेक्षा राखिएको छ।”
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३

