नेपाल हेल्थ न्युज, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले नेपालको औषधि उद्योग गम्भीर संकटमा परेको भन्दै सरकारले स्वदेशी उत्पादन प्रवर्द्धनको नीति अघि सार्नुपर्ने माग गरेका छन्।
शाहीले सामाजिक सञ्जालमा उल्लेख गरेअनुसार, अत्यधिक वैदेशिक आयात र सरकारको कमजोर नीतिका कारण करिब ५० वटा स्वदेशी औषधि उद्योग ‘सिक युनिट’ (थला परेको अवस्था) मा पुगेका छन्। यसले उद्योगमा कार्यरत १० हजारभन्दा बढी नेपाली कामदार बेरोजगार बन्न बाध्य भएका छन्।
दुःखको कुरा, नेपालमै सहजै उत्पादन गर्न सकिने करिब ५० प्रतिशत औषधिहरू अझै विदेशबाट आयात भइरहेको छ। शाहीले यसले केवल स्वदेशी उद्योगलाई मात्र होइन, देशको आत्मनिर्भरता र रोजगारीमाथि पनि ठूलो प्रभाव पारेको बताएका छन्।
उनले सरकारलाई तत्काल वैदेशिक औषधि आयात नियन्त्रण, स्वदेशी उत्पादन प्रवर्द्धन, र नेपालमै ‘कन्ट्र्याक्ट म्यानुफ्याक्चरिङ’ नीति लागू गर्न अपिल गरेका छन्।
यसैबीच, प्रतिनिधि सभा सदस्य भरत गिरीले आज बसेको संसद बैठकको विशेष समयमा स्वदेशी औषधि उद्योगको प्रवर्द्धन र क्यान्सर उपचारमा प्रयोग हुने केमोथेरापिक औषधिको अभावको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। गिरीले तत्काल आयातको व्यवस्था मिलाउन पनि सरकारसँग माग गरेका छन्।
विशेषज्ञहरूले औषधि उद्योगको संरक्षणमा समयमै कदम नचालेमा भविष्यमा नेपाल पूर्ण रूपमा विदेशी औषधिमाथि निर्भर हुन सक्ने चेतावनी दिएका छन्।
सुत्केरीलाई ६ महिना तलबी बिदा दिने प्रस्ताव
बुधबार, साउन १३, २०८३
नेपालमै पहिलो पटक न्यून चिरफार विधिबाट मुटुका तीनवटै भल्भको सफल शल्यक्रिया
बुधबार, साउन १३, २०८३
मेयरका छोरा डा. यादवले एकै पटक गरे साउनभरिको हाजिर
बुधबार, साउन १३, २०८३
स्वास्थ्यकर्मीमाथि हुने आक्रमण रोक्न सुरक्षा समन्वय समिति फेरि सक्रिय गरिने
मंगलबार, साउन १२, २०८३
