नेपाल हेल्थ न्युज, काठमाडौं । औषधि व्यवस्था विभागले बजारमा बिक्री भइरहेको टोफासिटिनिब औषधिको मूल्यमा देखिएको ठूलो अन्तरप्रति गम्भीर चासो व्यक्त गरेको छ। विभागले एलोपेथिक औषधि आयातकर्ता तथा स्वदेशी उत्पादक कम्पनीहरूलाई मूल्य निर्धारणबारे पुनः समीक्षा गर्न निर्देशन दिएको हो।
विभागले जारी गरेको सूचनाअनुसार समान जेनेरिक नाम र समान मात्राका टोफासिटिनिब ट्याबलेट विभिन्न कम्पनीले फरक–फरक मूल्यमा बिक्री गरिरहेका छन्। बजार अनुगमनका क्रममा १० वटा चक्कीको एउटा ब्रान्ड २९० रुपैयाँमा उपलब्ध हुँदा अर्को ब्रान्डको मूल्य ७०० रुपैयाँसम्म रहेको पाइएको विभागले जनाएको छ।
विभागका अनुसार एउटै प्रकृतिको औषधिमा यति धेरै मूल्य अन्तर हुनु उपभोक्ताका लागि अन्यायपूर्ण हुन सक्छ। यसले बिरामीको उपचार खर्च बढाउनुका साथै औषधि छनोटमा भ्रम सिर्जना गर्ने जोखिम पनि रहने विभागको भनाइ छ।
टोफासिटिनिब रुमेटोइड आर्थराइटिस, सोरियाटिक आर्थराइटिस तथा अल्सरेटिभ कोलाइटिसजस्ता दीर्घ रोगको उपचारमा प्रयोग गरिने औषधि हो। लामो समयसम्म सेवन गर्नुपर्ने भएकाले यसको मूल्यले बिरामीको आर्थिक अवस्थामाथि प्रत्यक्ष असर पार्ने चिकित्सकहरू बताउँछन्।
विभागकी निमित्त महानिर्देशक शिवानी खड्काले हस्ताक्षर गरेको पत्रमा औषधिको मूल्य निर्धारण गर्दा उत्पादन लागत, गुणस्तर, जनस्वास्थ्यको आवश्यकता र जिम्मेवार व्यावसायिक अभ्यासलाई प्राथमिकतामा राख्न आग्रह गरिएको छ।
साथै कम्पनीहरूलाई अनावश्यक मूल्य अन्तर कम गर्न आवश्यक कदम चाल्दै त्यससम्बन्धी विवरण शीघ्र विभागमा बुझाउन भनिएको छ। स्वास्थ्य क्षेत्रका विज्ञहरूका अनुसार नेपालमा एउटै जेनेरिक औषधि फरक फरक ब्रान्ड नाममा बिक्री हुने चलन पुरानै भए पनि अत्यधिक मूल्य भिन्नताले बिरामीमा महँगो औषधि नै प्रभावकारी हुन्छ भन्ने गलत धारणा विकास गराउने खतरा रहेको छ।

नेपालमा हजार जनाका लागि जम्मा २ डाक्टर, ४ नर्स
बुधबार, जेठ १३, २०८३
नेपालमै २९५ को मृगौला र १५ जनाको सफलतापूर्वक कलेजो प्रत्यारोपण
बुधबार, जेठ १३, २०८३
इबोला प्रकोप रोक्न रुसले तयार गर्यो नयाँ खोप
बुधबार, जेठ १३, २०८३
जेठ १६ देखि निजी अस्पतालमा आकस्मिक बाहेकका स्वास्थ्य बीमा सेवा स्थगित
बुधबार, जेठ १३, २०८३

