नेपाल हेल्थ न्युज, काठमाडौं । क्यान्सर उपचारमा प्रयोग हुने जीवनरक्षक (लाइफ सेभिङ) औषधिहरूको अभाव भएको भन्दै चर्चा भइरहेका बेला स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले शुक्रबार औषधि व्यवस्था विभागमा आक-स्मिक अनुगमन गरेकी छन्।
बिजुलीबजारस्थित विभागमा दिउँसो करिब साढे २ बजे पुगेकी मन्त्री मेहताले करिब डेढ घण्टा विभिन्न शाखाको अवस्था, सेवा प्रवाह र औषधि आपूर्ति व्यवस्थाबारे जानकारी लिएकी थिइन्। सोही अवसरमा उनले राष्ट्रिय औषधि प्रयोगशालाको समेत अनुगमन गरिन्।
अनुगमनका क्रममा मन्त्रीले पछिल्लो समय क्यान्सर उपचारमा प्रयोग हुने औषधिको अभाव र त्यसबारे आएका गुनासाबारे विभागका निमित्त महानिर्देशक शिवानी खड्गीसँग जानकारी लिएकी थिइन्।
मन्त्रीसँगै रहेको टोलीका केही सदस्यहरूले औषधि आयातकर्ताले मूल्य वृद्धि गर्न कृत्रिम अभाव सिर्जना गरेको हुनसक्ने आशंका गर्दै विभागले किन कडाइ नगरेको भन्ने प्रश्न पनि उठाएका थिए।
यसको जवाफमा निमित्त महानिर्देशक खड्गीले जीवनरक्षक औषधिको आपूर्ति सुनिश्चित गर्नु अहिलेको प्राथमिकता भएको बताउँदै तत्काल कारबाहीभन्दा पहिले वास्तविक अवस्था बुझ्न आवश्यक रहेको स्पष्ट पारेकी थिइन्। उनका अनुसार, औषधि आयातकर्ताहरूलाई विवरण उपलब्ध गराउन दुई दिनको समय दिँदै सूचना जारी गरिएको छ।
उनले विभागमा जनशक्ति अभाव र कार्यभार बढी भएकाले सेवा प्रवाहमा केही ढिलाइ भएको स्वीकार गर्दै थप कर्मचारी व्यवस्थाका लागि मन्त्रालयसँग आग्रह पनि गरेकी थिइन्।
अनुगमनपछि संक्षिप्त प्रतिक्रिया दिँदै खड्गीले मन्त्रीले समस्या र गुनासोबारे चासो देखाएको उल्लेख गर्दै समाधानका लागि सकारात्मक संकेत दिएको बताइन्।
यसैबीच नेपाल औषधि आयातकर्ता संघले क्यान्सर उपचारमा अत्यावश्यक मानिने कार्बोप्लाटिन र सिसप्लाटिन जस्ता औषधि पुनः अभावमा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ। संघले जीवनरक्षक औषधिको संवेदनशीलतालाई ध्यानमा राख्दै समस्या समाधानका लागि छिटो र प्रभावकारी प्रक्रिया अपनाउन आग्रह गरेको छ।
चितवनका सरकारी अस्पतालमा बिरामीकाे भार
शुक्रबार, जेठ २९, २०८३
नेपाल आँखा अस्पतालको सेवा आइतबार पनि
शुक्रबार, जेठ २९, २०८३
स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधी सहज उपलब्ध गराउने
शुक्रबार, जेठ २९, २०८३
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिग्रिएका हेमोडायलासिस मेसिन सञ्चालनमा
शुक्रबार, जेठ २९, २०८३

