नेभिगेशन

भारतबाट ४ हजार भाइल ‘कार्बोप्लाटिन’ औषधि नेपाल भित्रिँदै

add final

नेपाल हेल्थ न्युज, काठमाडौं । क्यान्सर उपचारमा किमोथेरापीका लागि अत्यावश्यक मानिने ‘कार्बोप्लाटिन’ औषधि नेपालमा ठूलो परिमाणमा भित्रिने भएको छ। औषधि अभावका कारण बिरामीहरू प्रभावित भइरहेका बेला भारतबाट करिब चार हजार भाइल औषधि आयात हुन लागेको हो।

औषधि आयातकर्ताहरूका अनुसार शनिबार बेलुकासम्म १५० एमजीको ५०० भाइल ‘कार्बोप्लाटिन’ नेपाल आइपुग्नेछ। त्यसपछि मंगलबारसम्म थप ४५० एमजीको १,४०० भाइल र १५० एमजीको २,१०० भाइल गरी कुल चार हजार भाइल औषधि भित्रिनेछ।

औषधि आयातकर्ता संघका अध्यक्ष पवन आचार्यका अनुसार आपूर्ति गरिने औषधिको विस्तृत रेकर्ड राखिनेछ र बिरामीको पुर्जीका आधारमा मात्र वितरण गरिनेछ। उनले भने, “आएको औषधिको रेकर्ड राखिनेछ र बिरामी पुर्जीका आधारमा मात्रै वितरण गरिनेछ। सामान्य अवस्थामा यो परिमाणको औषधिले करिब ४५ दिनसम्म धान्न सक्छ।”

मुख्यतया भारत र बंगलादेशबाट आयात हुने क्यान्सर औषधिहरूको बजारमा पछिल्लो समय अभाव देखिएको छ। वार्षिक करिब २४ हजार भाइल ‘कार्बोप्लाटिन’ खपत हुने भए पनि हाल स्टकमा औषधि नहुँदा उपचारमा समस्या आएको बताइन्छ।

सरोकारवालाका अनुसार विश्व बजारमा कच्चा पदार्थको मूल्य वृद्धि, डलरको भाउ बढ्नु, तथा नेपालमा औषधिको मूल्य समायोजन नहुनुजस्ता कारणले ‘कार्बोप्लाटिन’ र ‘सिस्प्लाटिन’ जस्ता औषधिको आपूर्तिमा असर परेको हो।

यसैबीच, औषधि व्यवस्था विभागले अनुगमन तथा समन्वयपछि क्यान्सरलगायत जीवनरक्षक औषधिको अभाव हुन नदिन निर्देशन दिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि बजारमा देखिएको औषधि अभाव समाधान र आपूर्ति सहज बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएको जनाएको छ।

अधिकारीहरूले आपूर्ति सहज भएपछि क्यान्सर उपचारमा प्रयोग हुने औषधिको अभाव केही हदसम्म कम हुने अपेक्षा गरेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट