नेपाल हेल्थ न्युज, काठमाडौं । सरकारले मानसिक स्वास्थ्यसम्बन्धी छुट्टै राष्ट्रिय नीति निर्माण गर्ने तयारी थालेको छ। देशभर मानसिक स्वास्थ्य समस्या बढ्दो र जटिल बन्दै गएको निष्कर्षसहित स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले मानसिक स्वास्थ्य नीति निर्माणको प्रक्रिया अघि बढाउने जनाएको छ।
आइतबार आयोजित कार्यक्रममा मन्त्रालयका सचिव डा. विकास देवकोटाले मानसिक स्वास्थ्यलाई अब प्राथमिकताका साथ सम्बोधन गर्नुपर्ने आवश्यकता रहेको बताउँदै छिट्टै नीति निर्माणको काम सुरु गरिने जानकारी दिनुभयो।
उहाँले मानसिक स्वास्थ्य समस्याले गम्भीर जनस्वास्थ्य चुनौतीको रूप लिइरहेको उल्लेख गर्दै यस क्षेत्रलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न रणनीतिमात्र पर्याप्त नभएको बताउनुभयो।
“सम्मानित सर्वोच्च अदालतले समेत यस विषयमा आदेश दिइसकेको छ। अहिले हाम्रो देशमा मानसिक स्वास्थ्य समस्या विकराल बन्दै गइरहेको छ। अब रणनीति मात्रै होइन, नीति नै बनाएर अघि बढ्छौं,” सचिव देवकोटाले भन्नुभयो।
उहाँले मानसिक स्वास्थ्य सेवामा पहुँच विस्तार, उपचार तथा पुनःस्थापना सेवाको सुदृढीकरण, जनचेतना अभिवृद्धि र आवश्यक जनशक्ति व्यवस्थापनलाई नीति निर्माणको मुख्य आधार बनाइने बताउनुभयो।
सचिव देवकोटाले सुशासन सरकारको प्रमुख प्राथमिकतामध्ये एक रहेको उल्लेख गर्दै स्वास्थ्य संस्थाहरूको सेवा सुधारका लागि अस्पताल सुधार कार्यविधि कार्यान्वयनमा ल्याइएको जानकारी दिनुभयो। उहाँका अनुसार स्वास्थ्य सेवाको गुणस्तर, पारदर्शिता र जवाफदेहितालाई थप मजबुत बनाउन मन्त्रालयले विभिन्न सुधारात्मक कदमहरू अघि बढाइरहेको छ।
मानसिक स्वास्थ्य नीति निर्माणसँगै मानसिक रोगको रोकथाम, समयमै पहिचान, उपचार तथा पुनःस्थापनालाई संस्थागत रूपमा अघि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
जलनका बिरामीलाई कीर्तिपुर अस्पतालमा काठमाडौं महानगरको २ लाखसम्मको निःशुल्क उपचार
आइतबार, भदौ २८, २०८३
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३
