नेपाल हेल्थ न्युज, काठमाडौं । देशकै पुरानो र ठूलो सरकारी स्वास्थ्य संस्था वीर अस्पतालमा रहेका दुवै सिटी स्क्यान मेसिन बिग्रिएपछि सिटी स्क्यान सेवा करिब एक महिनादेखि बन्द भएको छ। सेवा अवरुद्ध हुँदा बिरामीहरू उपचार तथा रोग निदानका लागि अन्य सरकारी तथा निजी स्वास्थ्य संस्थामा जान बाध्य भएका छन्।
अस्पताल प्रशासनका अनुसार दुईमध्ये एउटा सिटी स्क्यान मेसिन पूर्ण रूपमा काम नलाग्ने अवस्थामा पुगेको छ भने अर्को मेसिन जेनतेन सञ्चालन हुँदै आएको भए पनि एक महिनादेखि बन्द अवस्थामा रहेको छ। वीर अस्पतालमा दैनिक करिब ७० जनाले सिटी स्क्यान सेवा लिने गरेका थिए।
सिटी स्क्यान सेवा बन्द भएपछि बिरामीहरू राष्ट्रिय ट्रमा सेन्टर, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल लगायत अन्य स्वास्थ्य संस्थामा जान बाध्य भएका छन्। वीर अस्पतालमा सिटी स्क्यान गर्न दुई हजार पाँच सयदेखि छ हजार रुपैयाँसम्म शुल्क लाग्ने गरे पनि निजी अस्पतालमा भने पाँच हजारदेखि १६ हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था रहेको बिरामीहरूले बताएका छन्।
ट्रमा सेन्टरका निर्देशक डा. रुद्र मरासिनीले वीर अस्पतालमा सेवा बन्द भएपछि सिटी स्क्यान सेवाका लागि बिरामीको चाप उल्लेखनीय रूपमा बढेको बताउनुभयो। उहाँका अनुसार पहिले दैनिक करिब ५० जना बिरामी आउने गरेकामा अहिले एक सयभन्दा बढी बिरामी सेवा लिन आउने गरेका छन्।
उहाँले ट्रमा सेन्टरमा रहेको १६ स्लाइसको सिटी स्क्यान मेसिन १० वर्ष पुरानो भइसकेकाले नयाँ १२८ स्लाइसको सिटी स्क्यान मेसिन खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो।
रेडियोलोजिस्ट डा. विकासविक्रम अधिकारी का अनुसार गम्भीर रोगको पहिचान तथा शरीरका विभिन्न अङ्गहरूको विस्तृत अध्ययनका लागि सिटी स्क्यान अत्यन्त महत्त्वपूर्ण परीक्षण हो। अल्ट्रासाउन्ड वा एक्स–रेबाट प्राप्त नतिजामा शङ्का लागेमा सिटी स्क्यानमार्फत थप पुष्टि गरिने उहाँले बताउनुभयो।
वीर अस्पतालका प्रवक्ता डा. प्रकाश बुढाथोकीले सेवा पुनः सञ्चालनको तयारी भइरहेको जानकारी दिँदै एक साताभित्र सिटी स्क्यान सेवा सुचारु हुने अपेक्षा व्यक्त गर्नुभयो। उहाँका अनुसार एउटा मेसिनको वार्षिक मर्मत सम्झौता अवधि सकिएकाले नवीकरण प्रक्रिया अघि बढाइएको छ।
यस्तै अस्पतालकी निमित्त निर्देशक प्रभा कोइराला चापागाईंले मल्टिफङ्सनल सिटी स्क्यान मेसिनको महत्त्वपूर्ण पार्ट बिग्रिएकाले सेवा अवरुद्ध भएको बताउनुभयो। आवश्यक पार्ट विदेशबाट विशेष अर्डरमार्फत ल्याउनुपर्ने भएकाले मर्मतमा ढिलाइ भएको उहाँको भनाइ छ।
अस्पताल प्रशासनले आवश्यक पार्ट अर्डर भइसकेको र छिट्टै सेवा पुनः सञ्चालनमा आउने जनाएको छ। तर सेवा बन्द रहेसम्म सर्वसाधारण बिरामीले अतिरिक्त आर्थिक भार तथा उपचारमा असुविधा व्यहोर्नुपर्ने अवस्था कायम रहने देखिएको छ।
स्वास्थ्यकर्मीमाथि हुने आक्रमण रोक्न सुरक्षा समन्वय समिति फेरि सक्रिय गरिने
मंगलबार, साउन १२, २०८३
बेबी पाउडर जोन्सन एन्ड जोन्सनले ट्याल्क मुद्दा मिलाउन ५.५ अर्ब डलर तिर्ने प्रस्ताव
मंगलबार, साउन १२, २०८३
लुम्बिनी प्रादेशिक अस्पतालमा स्वास्थ्यकर्मी माग, कुन पदमा कति ?
मंगलबार, साउन १२, २०८३
नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द
मंगलबार, साउन १२, २०८३
