नेपाल हेल्थ न्युज, काठमाडौं । इन्टर्न र आवासीय चिकित्सकहरूले आफूहरूलाई लामो समयसम्म काममा लगाउने, पर्याप्त विश्राम नदिने तथा न्यून पारिश्रमिकमा काम गराइने अवस्थाको अन्त्य गर्न आन्दोलनको घोषणा गरेका छन्।
युवा तथा प्रशिक्षार्थी चिकित्सकहरूको साझा पहलमा गठित संघर्ष समितिले नेपालका विभिन्न अस्पताल तथा मेडिकल कलेजमा कार्यरत प्रशिक्षार्थी चिकित्सकहरूले श्रम अधिकारसम्बन्धी न्यूनतम मापदण्डसमेत नपाएको जनाएको छ। समितिका अनुसार कतिपय चिकित्सकले लगातार २४ घण्टासम्म ड्युटी गर्नुपर्ने अवस्था रहेको छ भने साप्ताहिक बिदासमेत नियमित रूपमा उपलब्ध छैन।
समितिले अत्यधिक कार्यबोझले चिकित्सकहरूको मानसिक तथा शारीरिक स्वास्थ्यमा नकारात्मक असर पारिरहेको दाबी गरेको छ। उनीहरूका अनुसार यस्तो परिस्थितिले स्वास्थ्यकर्मी मात्र होइन, बिरामी सेवाको गुणस्तरमा समेत प्रभाव पार्न सक्छ।
महिला प्रशिक्षार्थी चिकित्सकलाई कानुनले व्यवस्था गरेअनुसारको सुत्केरी बिदा सुनिश्चित गर्नुपर्ने माग पनि आन्दोलनरत पक्षले उठाएको छ। साथै बिदापछि अध्ययन वा प्रशिक्षण प्रक्रियामा कुनै अवरोध नआउने वातावरण निर्माण गर्नुपर्ने उनीहरूको भनाइ छ।
चिकित्सकहरूले श्रम ऐनअनुसार कामको समय निर्धारण गर्न, सातामा कम्तीमा एक दिन अनिवार्य बिदा दिन, अतिरिक्त कामका लागि अतिरिक्त भत्ता उपलब्ध गराउन तथा पारिश्रमिकको स्तर वृद्धि गर्न माग गरेका छन्। उनीहरूले आवासीय चिकित्सकलाई सरकारी अधिकृत आठौं तहसरह र इन्टर्न चिकित्सकलाई कम्तीमा छैटौं तहसरहको सुविधा उपलब्ध गराउनुपर्ने बताएका छन्।
संघर्ष समितिले प्रशिक्षार्थी चिकित्सकहरूको मानसिक स्वास्थ्य संरक्षणका लागि प्रत्येक मेडिकल कलेजमा विशेष संयन्त्र गठन गर्न, अध्ययन बीचमा अवकाश लिँदा लाग्ने जरिवाना पुनरावलोकन गर्न तथा एमडीरएमएस अध्ययनपछि लागू गरिएको अनिवार्य सेवा अवधिबारे पुनर्विचार गर्न पनि आग्रह गरेको छ।
आफ्ना मागबारे सम्बन्धित निकायलाई पटक–पटक जानकारी गराउँदा पनि सुनुवाइ नभएको भन्दै चिकित्सकहरूले ३० जेठमा काठमाडौंको माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गर्ने कार्यक्रम तय गरेका छन्। उक्त प्रदर्शन बिहान ११ बजेदेखि सुरु हुने जनाइएको छ।
देशभरका अस्पतालमा १० प्रतिशत शय्या लक्षित वर्गका लागि अनिवार्य निःशुल्क
बिहीबार, जेठ २८, २०८३
डा. रेग्मीले गरे तेत्तीस हजार बिरामीको मुटुको शल्यक्रिया
बिहीबार, जेठ २८, २०८३
बीपी क्यान्सर अस्पतालको अध्यक्षमा सात जना सर्टलिस्ट, सोचपत्र पेश गर्न आह्वान
बिहीबार, जेठ २८, २०८३
मारिया हस्पिटलमा नेपाल मेडिकल काउन्सिलको सिलबन्दी, तीन चिनियाँ चिकित्सकको दर्ता निलम्बित
बिहीबार, जेठ २८, २०८३

