नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल मेडिकल काउन्सिलले आवासीय चिकित्सक (रेसिडेन्ट) र इन्टर्नहरूको कार्यसमय सीमा कडाइका साथ लागू गर्न तथा उनीहरूले पाउनुपर्ने निर्वाह भत्ता (स्टिपेन्ड) नियमित रूपमा उपलब्ध गराउन सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएको छ।
काउन्सिलले आइतबार काउन्सिलले आयोगका उपाध्यक्षलाई पत्र लेख्दै ‘पोस्टग्रेजुएट मेडिकल शिक्षासम्बन्धी नियमावली २०१७’ अनुसार तोकिएका कानुनी सीमा र मापदण्डहरू पूर्ण रूपमा कार्यान्वयन गर्न आवश्यक परिपत्र जारी गर्न आग्रह गरेको हो।
काउन्सिलका अनुसार केही शिक्षण अस्पतालहरूमा कानुनविपरीत रूपमा रेसिडेन्ट तथा इन्टर्न चिकित्सकहरूलाई अत्यधिक लामो समयसम्म (२४ घण्टासम्मको ड्युटी) काम गराइने गरिएको छ। साथै, ड्युटीपछि अनिवार्य विश्राम (पोस्ट–ड्युटी आराम) नदिने समस्या पनि देखिएको छ।
त्यस्तै, उनीहरूले पाउनुपर्ने मासिक निर्वाह भत्ता नियमित रूपमा नपाएको गुनासो बढ्दै गएको काउन्सिलले जनाएको छ। काउन्सिलले यस्तो अवस्थाले चिकित्सकहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा असर पार्नुका साथै शिक्षण संस्थाको शैक्षिक वातावरण बिग्रने र अन्ततः बिरामीको सुरक्षामा समेत गम्भीर असर पर्ने चेतावनी दिएको छ।
समस्याको समाधानका लागि काउन्सिलले दुई मुख्य माग अघि सारेको छ। पहिलो, हप्तामा बढीमा दुई पटक मात्र २४ घण्टा ड्युटी गराउने व्यवस्था कडाइका साथ लागू गर्नुपर्ने र त्यसपछि अनिवार्य विश्राम दिनुपर्ने। दोस्रो, रेसिडेन्ट तथा इन्टर्नहरूको निर्वाह भत्ता नियमित रूपमा उपलब्ध गराउने सुनिश्चितता गर्नुपर्ने।
यसैबीच देशभरका मेडिकल कलेज र शिक्षण अस्पतालहरूमा कार्यरत करिब १३ हजार चिकित्सकहरू आन्दोलनमा उत्रिएका छन्। उनीहरूले आफूहरूमाथि श्रम शोषण भएको आरोप लगाउँदै सङ्घर्ष समिति बनाएर काठमाडौंको माइतीघर मण्डलामा धर्ना सुरु गरेका छन्। आन्दोलनले सरकारमाथि दबाब बढाएको छ। नेपाल मेडिकल काउन्सिलले यस विषयलाई तत्काल समाधान गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।
आईसीयूबाट अन्तर्वार्ता लिएको विषयमा प्रेस काउन्सिलको ध्यानाकर्षण
सोमबार, भदौ २९, २०८३
बैतडीमा भिरबाट लडेर स्वास्थ्य स्वयंसेविकाको मृत्यु
सोमबार, भदौ २९, २०८३
दर्ता नभएका जडीबुटीयुक्त सुगन्धित तेलको बिक्री रोक्न सरकारको निर्देशन
सोमबार, भदौ २९, २०८३
आँखा उपचारमा सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल
सोमबार, भदौ २९, २०८३
