नेभिगेशन

निःशुल्क स्वास्थ्य पोर्टलमार्फत १२ सय भन्दा बढीले लिए सेवा

add final

नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले संविधानमा व्यवस्था गरिएको नागरिकको स्वास्थ्यसम्बन्धी हक कार्यान्वयन गर्ने उद्देश्यले गत वैशाख ३ गतेदेखि अस्पतालका निःशुल्क शैय्यासम्बन्धी सूचना दिने अनलाइन प्रणाली सञ्चालनमा ल्याएको हो। उक्त प्रणालीमार्फत विपन्न, असहाय तथा बेवारिसे बिरामीलाई लक्षित गरी निःशुल्क उपचार सेवा उपलब्ध गराइँदै आएको छ।

मन्त्रालयका अनुसार पोर्टलमा अद्यावधिक विवरणअनुसार देशभरका अस्पतालहरूमा कुल २३ हजार ४५६ शैय्या उपलब्ध छन्। तीमध्ये कानुनी व्यवस्था अनुसार १० प्रतिशत अर्थात् २ हजार ३५६ शैय्या पूर्ण रूपमा निःशुल्क छुट्याइएको छ। हाल तीमध्ये ३५४ शैय्यामा बिरामी उपचाररत छन् भने बाँकी २ हजार २ शैय्या निःशुल्क रूपमा उपलब्ध रहेको मन्त्रालयले जनाएको छ।

पोर्टलमार्फत देशभर उपलब्ध शैय्या संख्या, निःशुल्क शैय्या, प्रयोगमा रहेका तथा खाली शैय्याबारे नियमित अद्यावधिक जानकारी प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ। मन्त्रालयले भविष्यमा अस्पतालमा उपलब्ध अन्य सेवाहरूको विवरण पनि पोर्टलमा समावेश गर्ने तयारी गरेको जनाएको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले निःशुल्क स्वास्थ्य सेवामा लक्षित वर्गको पहुँच सुनिश्चित गर्न पोर्टल सञ्चालनमा ल्याइएको बताइन्। उनका अनुसार विगतमा सेवा कार्यान्वयनमा अस्पष्टता र पहुँचको समस्या रहेकाले यस्तो प्रणाली आवश्यक भएको हो।

संविधानको धारा ३५ ले प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक सुनिश्चित गरेको छ। साथै, स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ अनुसार अस्पतालहरूले कुल शैय्याको १० प्रतिशत विपन्न, असहाय र बेवारिसे बिरामीका लागि निःशुल्क छुट्याउनुपर्ने व्यवस्था गरिएको छ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार कार्यविधि लागू भएपछि निःशुल्क सेवाको स्पष्टता बढेको छ र कार्यान्वयन सहज भएको छ। उनका अनुसार निःशुल्क शैय्या तथा सेवासम्बन्धी जानकारी पोर्टल र अस्पतालका सूचना पाटीमा सार्वजनिक रूपमा राख्ने व्यवस्था गरिएको छ।

सरकारले निःशुल्क उपचार सेवाको प्रभावकारी कार्यान्वयन अनुगमन गर्न छ वटा समिति गठन गरी ११ वटा संघीय अस्पतालमा खटाएको छ। ती समितिहरूले सेवा कार्यान्वयनको अवस्था नियमित रूपमा अनुगमन गरिरहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट