नेपाल हेल्थ न्युज, नेपालगन्ज । संघीय सरकारको स्वास्थ्य मन्त्रालयले देशभर एन्टी–रेबिज भ्याक्सिनको अभाव नरहेको दाबी गरिरहे पनि नेपालगन्जस्थित भेरी अस्पतालमा पछिल्ला केही महिनादेखि रेबिजविरुद्धको खोपको चरम अभाव देखिएको छ।
अस्पतालले सेवाग्राहीलाई निःशुल्क उपलब्ध गराउनुपर्ने एन्टी–रेबिज भ्याक्सिन उपलब्ध नभएपछि कुकुरले टोकेका बिरामीहरूलाई बाहिरबाट खोप खरिद गरेर ल्याउनुपर्ने बाध्यता रहेको जनाएको छ।
अस्पतालका सूचना अधिकारी डा. संकेत रिसालका अनुसार दैनिक ५० भन्दा बढी सेवाग्राही कुकुरले टोकेको उपचारका लागि आउने गरेका छन्। तर खोपको अभावका कारण उनीहरूलाई बाहिरबाट खरिद गर्नुपर्ने अवस्था सिर्जना भएको उहाँले बताउनुभयो।
“निःशुल्क पाइने भ्याक्सिन नभएपछि सेवाग्राहीलाई बाहिरबाट खरिद गर्न पठाउनुपरेको छ,” डा. रिसालले भन्नुभयो। उहाँका अनुसार केही खोप अस्पताल विकास समितिको सहयोगमा खरिद गरी वितरण गरिए पनि नियमित आपूर्ति नहुँदा सेवा प्रभावित भएको छ।
मेडिकल स्टोर प्रमुख भवानीप्रसाद यादवले भ्याक्सिन अस्पतालले आफैं खरिद नगर्ने र संघीय तथा प्रदेश सरकारबाट प्राप्त डोजका आधारमा वितरण गर्ने गरिएको जानकारी दिनुभयो।
यसैबीच, ड्रेसिङ रुम इन्चार्ज कृष्ण बुढाथोकीका अनुसार दैनिक ७० देखि ७५ डोजसम्म भ्याक्सिन प्रयोग हुने गरेको छ। भ्याक्सिन अभावका कारण सेवाग्राहीसँग विवाद र असन्तुष्टि समेत बढ्दै गएको उहाँले बताउनुभयो।
अस्पतालले मौज्दात सकिएकाले संघीय वा प्रदेश सरकारबाट थप आपूर्ति नआएसम्म निःशुल्क सेवा निरन्तर गर्न नसकिने स्पष्ट पारेको छ। निःशुल्क उपलब्ध हुनुपर्ने खोप खरिद गर्न बाध्य हुनुपरेको भन्दै सेवाग्राहीले गुनासो गर्दै आएका छन्।
टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३
नर्भिकले ४२ दशमलब १०५ प्रतिशत लाभांश वितरण गर्ने
आइतबार, भदौ २८, २०८३

