नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य बीमा बोर्डले गत १६ जेठदेखि कार्यान्वयनमा ल्याएको परिमार्जित सुविधा थैलीअन्तर्गत औषधि तथा प्रयोगशाला परीक्षणको दररेट पुनः संशोधन गर्ने तयारी गरेको छ। सेवा प्रदायक स्वास्थ्य संस्थाबाट व्यापक गुनासो आएपछि बोर्डले दररेट पुनरावलोकन प्रक्रिया अघि बढाएको हो।
विशेषगरी औषधि तथा औषधिजन्य स्वास्थ्य सामग्रीको दर अत्यन्त न्यून निर्धारण गरिएको भन्दै अधिकांश सेवा प्रदायक संस्थाले उक्त दरमा सेवा प्रवाह गर्न कठिन हुने बताएका थिए। त्यसपछि बोर्डले नयाँ अध्ययन समिति गठन गरी दररेट पुनः समीक्षा गरेको हो।
बोर्ड स्रोतका अनुसार करिब दुई साताअघि गठन गरिएको समितिले ५०० भन्दा बढी औषधि तथा ३० भन्दा बढी प्रयोगशाला परीक्षणको दररेट संशोधन गर्दै नयाँ प्रस्ताव तयार गरिसकेको छ। प्रस्तावित दररेट २०८१ मा कायम गरिएको दरभन्दा कम भए पनि गत १६ जेठदेखि लागू गरिएको दरभन्दा केही बढी रहने गरी तय गरिएको जनाइएको छ।
“सेवा प्रदायक संस्थाबाट दररेट अत्यन्त न्यून भएको भन्दै व्यापक गुनासो आएपछि नयाँ समिति गठन गरिएको हो। समितिले नयाँ प्रस्ताव तयार गरिसकेको छ। अब बस्ने बोर्ड बैठकले अनुमोदन गरेपछि कार्यान्वयनमा आउनेछ,” बोर्ड स्रोतले जनाएको छ।
दररेट पुनरावलोकनका लागि गठित समितिमा स्वास्थ्य बीमा बोर्डका प्रतिनिधिसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, औषधि व्यवस्था विभाग, स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा तथा विभिन्न सरकारी अस्पतालका प्रतिनिधिहरू सहभागी थिए। समितिमा वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, पाटन अस्पताल र भक्तपुर क्यान्सर अस्पतालका प्रतिनिधिहरू पनि समावेश गरिएको थियो।
लामो समयदेखि आर्थिक दायित्वका कारण दबाबमा रहेको स्वास्थ्य बीमा कार्यक्रमलाई नयाँ नेतृत्वले व्यवस्थित बनाउन विभिन्न सुधारका कदम चालिरहेको बोर्डले जनाएको छ। पछिल्लो समय बीमा दाबी तथा विपन्न नागरिकको उपचारबापतको सोधभर्ना भुक्तानीलाई प्राथमिकतामा राख्दै काम भइरहेको छ।
नयाँ नेतृत्वले परिमार्जित सुविधा थैली कार्यान्वयनसँगै सरोकारवालाबाट आएका सुझाव र गुनासोलाई समेत सम्बोधन गर्ने प्रयासस्वरूप दररेट पुनः संशोधनको प्रक्रिया अघि बढाएको जनाएको छ।
थप २ हजार विद्यार्थीले पीसीएल नर्सिङ पढ्न पाउने आदेश कार्यान्वयन गर्न निर्देशन
सोमबार, असार १५, २०८३
६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति छनोटका लागि उम्मेदवारको नामावली सार्वजनिक
सोमबार, असार १५, २०८३
नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघको अध्यक्षमा डा. होम प्रसाद अधिकारी
आइतबार, असार १४, २०८३
पाँच वर्षमा सरकारी सहुलियत लिने क्यान्सरका बिरामी २८ हजार नाघे
आइतबार, असार १४, २०८३
